वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाभियोग लगाउन कांग्रेस सांसद पन्तको माग

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाभियोग लगाउन कांग्रेस सांसद पन्तको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो टिप्पणी गर्नुभएको हो । राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरूरी रहेको बताउनु भयो । उहाँले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरूले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाउनु भयो ।

सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.