कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा साउन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनअघि उम्मेदवारी दर्ताको प्रक्रियामा विवाद उत्पन्न भएपछि कार्यतालिका स्थगित गरिएको छ ।
निर्वाचन समितिकाअनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको थियो । तर, उम्मेदवारी दर्ताका क्रममा अखिल क्रान्तिकारी र नेवि संघ नरेश पण्डित समूहबीच मतभेद देखिएपछि विवाद चर्किएको हो ।
नेवि संघले निर्वाचन समितिमा गरिएको तालाबन्दीबारे वार्ताको माग गर्दै उम्मेदवारी दर्ता प्रक्रियामा असहमति जनाएपछि स्थिति असहज बनेको हो । अखिल क्रान्तिकारीले भने तोकिएको समयमै उम्मेदवारी दर्ता गर्नुपर्ने माग गरेको थियो ।
त्यस क्रममा नेविसंघ र अखिल क्रान्तिकारी तथा नेविसंघ र प्रहरीबीच झडप समेत भएको थियो । अनेरास्ववियुले झडप शान्त पार्न भूमिका निर्वाह गरेको थियो । विवाद बढेपछि निर्वाचन समितिले सूचना जारी गर्दै उम्मेदवारी दर्ता प्रक्रिया स्थगित गरेको जनाएको छ ।
विगत १६ वर्षदेखि स्ववियु निर्वाचन हुन नसकेको भन्दै विद्यार्थीहरूले अब निर्वाचन अवरूद्ध गर्न नहुने माग गर्दै आएका छन् ।