सौर्य एयरलायन्स दुर्घटना: पाइलटकै त्रुटि भएको प्रतिवेदन सार्वजनिक

श्रावण ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सौर्य एयरलायन्स दुर्घटना: पाइलटकै त्रुटि भएको प्रतिवेदन सार्वजनिक

काठमाडौं । सी-चेकका लागि काठमाडौंबाट ०८१ साउन ९ गते पोखराका लागि उडेलगत्तै भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाको मुख्य कारण जहाजको प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

दुर्घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको जाँच आयोगले शुक्रबार सार्वजनिक गरेको अन्तिम प्रतिवेदनले टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग अत्यधिक माथि उचालेका कारण ‘पिच रेट’ बढी हुन गई जहाजको गति घटेर दुर्घटना भएको औँल्याएको हो ।

उडानका क्रममा जहाजको अगाडिको भाग स्वीकृत मापदण्डभन्दा अत्यधिक माथि उचालिनुलाई ‘पिच रेट’ बढी हुनु भनिन्छ । यस्तो अवस्थामा जहाजको गति घटेर आकासमै अड्किएजस्तो स्थिति उत्पन्न हुन्छ । 

यस्तो अवस्थामा जहाजको अगाडिको भाग अत्यधिक उचालिएर पखेटामा हावाको बहाव ठप्प हुन्छ । यसले गर्दा जहाजले उचाइ लिन नसकी दुर्घटना हुन्छ । यस कम्पनीका अरू उडानमा पनि तोकिएको मापदण्डभन्दा बढी ‘पिच रेट’ मा जहाज उडाउने गरेको आयोगले फेला पारेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.