काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण बिहिबार देशभरका २२ वटा सडक तथा राजमार्ग अवरूद्ध भए । कुल ७७ स्थानमा सडक अवरूद्ध भएका थिए । हाल ४० स्थानमा सडक एकातर्फी रूपमा सञ्चालनमा छन् भने २ स्थानमा यातायात अवरूद्ध नै छ ।
पूर्व-पश्चिम राजमार्गको दुम्किवास दाउन्ने सडक एकातर्फी सञ्चालनमा आएको प्रहरीले बताएको छ । त्यसैगरी बेनी-जोमसोम सडकको रूप्से खण्डमा पहिरो खस्दा अवरूद्ध भएको सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी गोविन्द सुवेदीले बताउनुभयो ।
उता भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी-१, कान्छीबजार नजिकको छलगाड खोलाको बहावका कारण सवारी आवागमन पूर्णतः अवरूद्ध भएको छ। बाढीको चपेटामा परेपछि सदरमुकाम दुनैबाट नेपालगन्ज र अन्य गन्तव्यतर्फ छुटेका गाडीहरू तथा नेपालगन्ज हुँदै दुनैतर्फ आइरहेका गाडीहरू दुवै छेउमा थन्किएर रोकिएका छन् । यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
यता, काभ्रेको धुलिखेल नगरपालिका-११ पात्लेखेतमा आएको लेदोसहितको पहिरोले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले बताउनुभयो ।
अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित कोदारी खण्डमा पहिरो खसेपछि चीन जोड्ने कोदारी राजमार्ग तीनदिनदेखि अवरूद्ध रहेको छ । सोमबार रातिदेखि वर्षाका कारण भोटेकोशी गाउँपालिकाको वडा नम्बर-२ को कोदारी कोप्लाङमा पहिरो र वडा नम्बर ३ को लार्चामा ह्युमपाइप बगाएपछि राजमार्ग बन्द रहेको प्रहरीले बताएको छ ।