काठमाडौं । न्याय परिषद्ले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन सुरू गरेकाे छ ।
बिहिबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीशद्वय थारू र महर्जनमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल अध्यक्षतामा छानबिन समिति पनि गठन भएको छ । न्यायाधीशद्वयलाई बिहीबारदेखि इजलासमा बस्नबाट रोक लगाउँदै सर्वोच्चमा हाजिर हुन बोलाएको हो ।
बम विस्फोट भएको प्रमाण मेटाउन घाइतेलाई जिउँदै इँटाभट्टामा फालेको कसुरमा जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद आफताब आलमलगायतलाई दिएको जन्मकैदको फैसलालाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय थारू र महर्जनको इजलासले उल्ट्याएको थियो ।
जिल्ला अदालतल रौतहटले गत वर्ष असारमा आलम र अन्य तीनलाई १७ वर्षअघि २०६४ चैत २७ गते बम विस्फोटमा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई राजापुरस्थित इँटाभट्टामा फालेर जिउँदै जलाएको कसुरमा जन्मकैदको सजाय गरेको थियो । त्यसविरुद्ध भएको पुनरावेदनको सुनुवाइमा जेठ १४ गते न्यायाधीशद्वयको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको थियो ।
घटनामा मारिएका त्रिलोक प्रतापका बुवा नारायणसिंह राजपुत सोमबार न्यायपरिषद्मै पुगेर तथ्य प्रमाणभन्दा बाहिर गई सफाइ दिने न्यायाधीशद्वयमाथि छानबिन गरिपाऊँ भनी उजुरी दिनुभएको थियो । फैसला भएको दुई दिनपछि नै न्यायाधीशद्वयविरूद्ध परिषद्मा उजुरी समेत दायर भएको थियो ।