पर्सा । पर्साको वीरगन्जमा शनिबार साँझ ७ बजेदेखि लगाइएको कर्फ्युको अवधि पुनः बढाइएको छ । शनिबार दिउँसो दुई समूहबीच झडप हुँदा वीरगन्ज तनावग्रस्त बनेको थियो ।
अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ ७ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो। तर, स्थितीलाई मध्यनजर गर्दै प्रशासनले आइतबार राति १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
प्रशासनले एक विज्ञप्ति जारी गर्दै शनिबार साँझ साढे ७ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका क्षेत्र भित्रका केही स्थानहरूमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएकोमा आइतबार राति १२ बजेसम्मका लागि कर्फ्यू आदेशको समयावधि थप गरिएको जनाएको छ ।
हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समूहबीच झडप भएको थियो । झडपपछि वीरगन्जमा अत्यधिक संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
यसअघि वीरगन्जस्थित महावीर मन्दिरबाट निकालिएको शोभा यात्रा वीरगन्ज परिक्रमा गर्ने क्रममा छपकैया चोक पुग्दा झडप भएको हो । स्थिति तवानग्रस्त बन्न पुगेको र त्यसलाई नियन्त्रणमा लिन प्रहरीले केही थान अश्रुग्यास समेत प्रहार गरेको थियो ।