नेपाल बार एसोसिएसन मतगणना : सत्ता पक्षीय गणबन्धनका उम्मेद्वारको फराकिलो अग्रता

चैत्र २६, २०८१ |किरण पौडेल
नेपाल बार एसोसिएसन मतगणना : सत्ता पक्षीय गणबन्धनका उम्मेद्वारको फराकिलो अग्रता

काठमाडौं । नेपाल बार एशोसियनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ । मतगणनामा सुरुदेखि नै कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानलले अग्रता कायम राखेको छ ।

पछिल्लो मतगणना अनुसार अध्यक्षमा सत्तापक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली कांग्रेस डीएलए गठबन्धनका अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्र अगाडि देखिनुभएको छ । मिश्रले २ हजार १० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, विपक्षी गठबन्धन नेकपा माओवादी केन्द्र निकट आरपीएलए र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानुन व्यवसायी संगठनको प्यानलका अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठले १ हजार ७ मत पाउनु भएको छ । 

महासचिवमा पनि पीपीएलए र डीएलए गठबन्धनबाट एमालेनिकट पीपीएलएका केदार कोइरालाको अग्रता कायमै छ । कोइरालाले १ हजार ९ सय ८९ मत प्राप्त गर्दा श्रेष्ठका प्यानलका महासचिव उम्मेदवार यज्ञमणि न्यौपानेले ८ सय ७८ मत मात्र प्राप्त गर्नुभएको छ । 

सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली काङ्ग्रेसनिकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । देशभर योग्य मतदाता ९ हजार ९ सय ९७ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९ सय ९५ मत खसेको थियो । बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जनाबीच प्रतिस्पर्धा छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।