सिरहाकी रिंकु सदाको न्यायका लागि सरकारलाई चौतर्फी दबाब, घटनाको दुई सातासम्म पनि अनुसन्धानमा देखिएन प्रगति

फाल्गुन १८, २०८१ |विनय आजाद
सिरहाकी रिंकु सदाको न्यायका लागि सरकारलाई चौतर्फी दबाब, घटनाको दुई सातासम्म पनि अनुसन्धानमा देखिएन प्रगति

सिरहा । सामूहिक जबर्जस्ती करणीपछि गत माघ ३० गते साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका- १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको विषयमा सरकारले बल्ल आइतबार आफ्नो धारणा सार्वजनिक गरेको छ । 

घटनाको तीन साता हुनै लाग्दा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभामा बोल्दै यो घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको हो । यसले पिछडिएको समुदायकी किशोरीमाथि भएको जघन्य अपराधको घटनाका दोषी कारबाहीको दायरामा आउने विश्वास गरिएको छ । संसद्‌मा गृहमन्त्रीले नै रिंकुको मृत्युमा सामूहिक जबर्जस्ती करणको घटना र त्यसपछि बसेको पञ्चायतीको घटनाक्रम जोडिएको बताउनुले रिंकुको मृत्युमा राज्य संवेदनशील भएको देखिएको छ ।

गत माघ २७ गते साँझ शौच गर्न निस्किएकी रिंकु २८ गते बिहान ४ बजेतिर मात्रै घर आइपुगेको परिवारले बताएको छ । शौच गरिरहेको बेला स्थानीय रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले आफ्नो मुख थुन्दै करेसाबारीमा लगी सामूहिक करणी गरेको रिंकुले आमालाई बताएकी थिइन् । तर, वडासदस्य नथुनी साह सहित रामपुकार मण्डल, रामपृत साह, रामकृपाल, विन्देश्वर साह लगायतका स्थानीयले गाउँमै पञ्चायती गर्दै एक लाख ४० हजार जरिवाना पीडकबाट भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । घटना गाउँमै मिलाउने प्रपञ्च र पीडक पक्षको धम्कीका बीच रिंकु मृत भेटिएकी थिइन् ।

यस घटनाको अहिले मधेश प्रदेश प्रहरीले समिति बनाएर छानबिन गरिहेको छ भने जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय लहानले पनि अनुसन्धान गरिरहेको छ । सुरूमा सामूहिक जबरजस्ती करणीका मुख्य आरोपी रूपेश मण्डल विरुद्ध आत्महत्या दुरुत्साहनमा मात्रै मुद्दा दर्ता गरेको प्रहरीले सञ्चारमाध्यममा समाचार आएपछि दबाब बढेसँगै सामूहिक करणी तथा पञ्चायतीमा संलग्न आठ जना विरुद्ध कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र मिलापत्र लेनदेनमा मुद्दा दर्ता गरेको छ । तर, अहिलेसम्म आठै जना मुख्य आरोपी पक्राउ पर्न सकेका छैनन् । पञ्चायतीमा संलग्ता देखिएका अन्य तीन जना भने प्रहरी नियन्त्रणमा छन् ।

जनजागरण अभियानमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि शनिबार रिंकुको घर पुगेर घटनाबारे जानकारी लिँदै परिवारलाई न्याय दिलाउने आश्वासन दिनुभएको छ । यस्तै, सिरहाका सुरक्षा निकायका प्रमुखसँग भेट्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement