बिरामीको ज्यानसँग खेलवाड गर्दै ‘अवैध अस्पताल’, एकपछि अर्को घटना बाहिरिएपछि मुख्यमन्त्रीको छड्के निरीक्षण

फाल्गुन ५, २०८१ |अनिल मिश्र
बिरामीको ज्यानसँग खेलवाड गर्दै ‘अवैध अस्पताल’, एकपछि अर्को घटना बाहिरिएपछि मुख्यमन्त्रीको छड्के निरीक्षण

धनुषा । मापदण्डविपरीत र दर्ताबिना नै सञ्चालित अस्पतालहरूको लापरबाहीले बिरामीले ज्यान गुमाइरहे पनि रमिते बनेको भन्दै आलोचना बढेपछि मधेश प्रदेश सरकार बल्ल गम्भीर भएको छ । विभिन्न सेवा सुविधाको नाममा चर्को शुल्क उठाउने तर बिरामीको उपचारमा लापरबाही गर्ने अस्पतालहरूलाई कानुनको परिधिमा ल्याउन मधेश प्रदेशका मुख्यमन्त्री आफैं अनुगमनमा उत्रिनुभएको छ ।

जनकपुरधामको पिडारी चोकमा दर्ताबिनै सञ्चालनमा रहेको मुस्कान अस्पतालले सर्लाही हरिपूर्वा नगरपालिकाकी २५ वर्षीया बबिताकुमारी यादवको पित्तथैलीको शल्यक्रिया गर्‍यो । २० दिनदेखि बबिताको होश नआएको घटना बाहिरिएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले आफैं अस्पतालहरूको अनुगमन थाल्नुभएको हो । प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री, सचिव र पदाधिकारी सहितको टोलीले पहिलो दिन २१, दोस्रो दिन ५ र तेस्रो दिन ५ वटा सहित ३१ वटा अस्पतालको अनुगमन गर्‍यो । त्यस क्रममा १३ वटा अस्पताल दर्ता नै नभएको, दर्ता भए पनि १४ वटाको लामो समयदेखि नवीकरण नभएको र ४ वटा मात्र दुरुस्त रहेको पाइएको छ ।

दर्ताबिनै नियम कानुनविपरीत सञ्चालित निजी अस्पतालहरूले बिरामीको ज्यानसँग खेलवाड गरिरहेको घटना भने जनकपुर क्षेत्रमा नौलौ होइन । एकपछि अर्को घटना दोहोरिन थालेको र सरकारको निकै आलोचना बढेपछि मुख्यमन्त्री सिंहले निजी अस्पतालहरूको आफैं छड्के निरीक्षण गर्नुभयो ।

अस्पतालहरूले आपत्‌कालीन कक्ष, औषधी पसल र प्याथोलोजी ल्याबहरूको पनि कुनै मापदण्ड पालना नगरेको पाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता अस्पतालहरूमा उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न र वैधता प्राप्त नगरेसम्म कुनै पनि हालतमा अस्पताल सञ्चालन नर्गन निर्देशन दिनुभएको छ । निर्देशन पालना नगरेका एक जना सञ्चालकलाई मुख्यमन्त्रीले नै प्रहरीको जिम्मा लगाएपछि यस्ता अस्पताल सञ्चालकहरू संगठित भएका छन् ।

उपचारको क्रममा लापरबाहीका कारण बिरामीको ज्यान गएमा कम्तीमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ । तर, मापदण्डविपरीत र अवैधरूपमा सञ्चालनमा रहेका अस्पतालको लापरबाहीका कारण सात वर्षभित्र कैयौं बिरामीले ज्यान गुमाए पनि अहिलेसम्म कसैलाई कारबाही भएको छैन । लेनदेनमा यस्ता घटना यहाँ मिलाइन्छ । यसले एकातर्फ जनकपुरधामका निजी अस्पतालहरूप्रति बिरामीको विश्वास घट्दो छ भने अर्कोतर्फ गुणस्तरीय स्वास्थ्य उपचारका लागि बिरामी र तिनका आफन्त काठमाडौं, धरान, विराटनगर, भरतपुर लगायत भारतका विभिन्न शहरमा उपचार गराउन जान बाध्य छन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement