काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरुद्धमा कालोपट्टी बाँधेर कानुन व्यवसायीहरूले बिरोध जनाएका छन् ।
आईतबार नेपाल बार एशोसिएशनको परिसरमा कानुन व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका हुन् । सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा बारका सदस्यहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाए ।
काठमाडौं जिल्ला अदालमा सहकारी ठगी प्रकरणबारे बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो । सोही विषयमा कानून व्यवसायीहरुले कानुन व्यवसायीहरुको सुरक्षाको सुनिश्चितता प्रत्याभुति गर्न दबाब स्वरुप बिरोध गरेका हुन् ।
बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानुन व्यवसायीहरुमाथि आक्रमण हुनुले कानुन व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानुनी दायरा फराकिलो बनाउनुपर्ने माग गर्नुभयो ।
लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताउनु भयो । उसमा अदालत पनि गम्भीर हुनुपर्ने बताउनु भयो । वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भएको कुटपिट निन्दनीय रहेको बताउनु भयो । राजनीतिक दलका कार्यकर्ता र राजनीतिक दलले पनि गम्भीर रुपले लिनुपर्ने बताउनु भयो ।
जमात मिलेर न्यायलाई दुत्कार्ने कोशिस न्याय प्राप्तिको लागि हिँडिरहेका कुनैपनि पक्षको लागि उचित नहुने बताउनु भयो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्यपालनको सिलसिलामा कानुन व्यवसायीमाथि आक्रमण हुनु भनेको समग्र न्यायिक प्रक्रियामाथिको आक्रमण भएको बताउनु भयो । न्यायको पवित्रतामाथिको आक्रमण गर्ने छुट कसैलाई नरहेको बताउनु भयो ।
कानुन व्यवसायीहरुले वकालत गरेबापत हुने हमला भनेको न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भएको बताए । यस्ता किसिमका गतिविधिहरु गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए । त्रिपाठीमाथिको हातपात सिंगो कानुन व्यवसायीहरुमाथिको हातपात भएको बताए ।