काठमाडौं । नेपाल आउने हरेक विदेशीलाई पर्यटकका रुपमा मात्रै तथ्यांक राखिएको छ । पर्यटकका रुपमा आएका कतिपयले चलाइरहेको अपराधका बारेमा भने सरकारले खासै निगरानी गरेको छैन । त्यसैको परिणाम हो- मंगलबार भारतीय नागरिकले चिनियाँलाई काठमाडौंबाट अपहरण गरेको भनिएको घटना । भारतीय र चिनियाँ दुवै समूहले नेपाललाई सुरक्षित स्थान मानेर संयुक्त रुपमा साइबर अपराधको धन्दा चलाइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । तेस्रो देशका नागरिकले पनि नेपाललाई नै सामूहिक अपराधको योजना बनाउने स्थल र ट्रान्जिट बनाइरहेको देखिएको छ ।
काठमाडौंको ठमेलबाट गत सोमबार भारतीय नागरिकले चिनियाँ नागरिक अपहरण गरेको भन्दै आएको सूचनापछि सबै नाकामा प्रहरी परिचालन भयो । सुरक्षा जाँचकै क्रममा चार भारतीय नागरिक पक्राउ परे । तर भारतीय नागरिकले कुनै निर्दोष चिनियाँलाई लगेका थिएनन् । दुवै समूह मिलेर नेपालबाट साइबर अपराधको धन्दा चलाइरहेको तथ्य फेला पर्यो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नेपालबाट साइबर ठगी गर्न चिनियाँहरूले भारतीयको बैंक खाता प्रयोग गरेका थिए । आफ्नो बैंक खाता प्रयोग गरेवापत पाउनुपर्ने साढे तीन करोड भारतीय रुपैयाँको कमिसन नपाएपछि उनीहरूले चिनियाँलाई उठाएर लगेका हुन् । यो तथ्यले तेस्रो देशका नागरिकले नेपाललाई अपराधका लागि सुरक्षित स्थल मानेको पुष्टि गर्छ ।
यसअघि ६ जना बंगलादेशीलाई युरोप पठाउने भन्दै तेस्रो देशका नागरिकले नेपालमै बन्धक बनाएका थिए । यति मात्र होइन, अन्तरदेशीय साइबर अपराध गर्नेदेखि लागुऔषध कारोबार गर्ने र सुन तस्करी गर्ने चिनियाँहरूले पनि नेपालकै रुट प्रयोग गरिरहेका छन् । पछिल्लो तीन वर्षमा विभिन्न अपराधको आरोपमा ५ सय ३७ जना विदेशी पक्राउ परिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनु भयो ।
त्यसो त नेपालमा आएर अपराधमा संलग्न हुने विदेशीको सूची हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा १६ जना चिनियाँसहित १८ देशका ७७ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा बंगलादेश, फ्रान्स, थाइल्याण्ड, क्यानडा, रुस, अफगानिस्तान, अमेरिका र दक्षिण कोरियालगायतका देशका नागरिक हुन् । गत एक वर्षमा नेपाल आएर अपराधमा संलग्न हुनेको संख्या झन्डै दोब्बरले बढेर १ सय ३२ पुग्यो । जसमा सबैभन्दा धेरै ४२ जना चिनियाँ छन् ।
सुनदेखि मानव तस्करीसम्मका अपराधमा चीन, किर्गिजस्तान, मौरिसस, सुडान र माल्डोभासम्मका नागरिक संलग्न भएको देखिएको छ । यस वर्ष साउन यता ९१ जना विदेशी पक्राउ परिसकेका छन् । विदेशी मुद्राको अवैध कारोबार, लागुऔषध कारोबार, मानव बेचविखन, भिसाको म्याद सकिएको र जबरजस्ती करणी जस्ता जघन्य अपराधमा तेस्रो देशका नागरिक पक्राउ परेका छन् । नेपालका कारगारमा अहिले पनि १ हजारभन्दा बढी विदेशीले सजाय भोगिरहेका छन् । अपराधमा संलग्न रहेको कसुरमा १० महिनामा २ सय ७४ जना विदेशीलाई त नेपालबाटै डिपोर्ट नै गरिएको छ। गलत मनसायका साथ नेपाल आउनेहरूमाथि निगरानी बढाउनुपर्ने अवस्था रहेको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले बताउनु भयो ।
तीन वर्षमा २ सय ३७ जना भारतीय विभिन्न अपराधको अभियोगमा पक्राउ परेको प्रहरीको तथ्यांक छ । बलियो सूचना प्रणालीको अभाव तथा प्रभावकारी निगरानी नगरिँदा पनि तेस्रो देशका नागरिकले नेपाललाई अपराध गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका हुन् ।