काठमाडौं । युक्रेनी राष्ट्रपति भ्ल्यादिमिर जेलेन्स्कीले युक्रेनी सेनाले बन्दी बनाएका दुई उत्तर कोरियाली सेनालाई रिहा गर्न शर्तसहित तयार रहेको प्रस्ताव पेस गर्नुभएको छ ।
उत्तर कोरियाका नेता किम जोंङ उनले रूसमा रहेका युक्रेनी सैनिकहरूको रिहाइ सुनिश्चित गरेमा रुसको कुर्स्क क्षेत्रबाट बन्दी बनाइएका उत्तर कोरियाली सेनालाई रिहा गर्न तयार रहेको जेलेन्स्कीले बताउनुभएको हो । गत शनिबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको कुर्स्क सीमा क्षेत्रमा रुसी सेनासँग युक्रेनविरुद्ध लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएको दाबी गर्नुभएको थियो ।
दुवै बन्दीले आवश्यक चिकित्सकीय सहायता प्राप्त गरिरहेको र उनीहरु युक्रेनको गुप्तचर सेवा सेक्युरिटी सर्भिस अफ युक्रेन एसबीयूको नियन्त्रणमा रहेको जेलेन्स्कीले बताउनु भएको छ । एसबीयूले ती दुवै सैनिकलाई यही जनवरी नौ मा समातिएको र उनीहरुलाई जेनेभा सन्धिअनुसार आवश्यक सबै चिकित्सकीय सेवा उपलब्ध गराउनुका साथै राजधानी किएभ ल्याइएको जनाएको छ ।
यो सेनाको आदानप्रदानमार्फत सम्भव रहेको उहाँको भनाइ छ । युक्रेनी सेनाले अन्य उत्तर कोरियाली सैनिकलाई पनि कब्जामा लिएको हुन सक्ने बताइएको छ । झन्डै तीन वर्षदेखि जारी युक्रेन युद्धमा रुसलाई उत्तर कोरियाका ११ हजार सैनिकहरुले सहयोग गरिरहेको युक्रेन र दक्षिण कोरियाले आरोप लगाउँदै आएको छ । उक्त विषयलाई भने रुसले अस्विकार गरेको छैन ।
फर्कन नचाहने उत्तर कोरियाली सैनिकहरूका लागि अन्य विकल्पहरू युक्रेनमा उपलब्ध रहेको समेत जेलेन्स्कीले बताउनुभएको छ । बन्दी बनाइएका दुई सैनिकले भने युक्रेनसँगको युद्धमा लड्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् । दुई मध्ये एकले आफू स्वदेश फर्कन चाहेको र अर्काले युक्रेनमै बस्न इच्छा व्यक्त गरेको बताइएको छ । यसैबीच, रुसले पूर्वी युक्रेनका दुई गाउँ कब्जा गरेको दाबी गरेको रक्षा मन्त्रालयले जनाएको छ ।