धनुषा । मिथिला संस्कार र सभ्यता शहरका पाँच तारे होटेल हुँदै अमेरिकासम्म पुगिसकेको छ । मिथिला चित्रकलाले व्यावसायिक रूप लिइसक्दा यसको मूल थलो मिथिलाञ्चलका गाउँघरमा भने नयाँ पुस्ताको आकर्षण घटेको छ ।
धनुषाको धनौजी गाउँपालिकाको लखौरी पश्चीमबारी गाउँको पोखरीको डिलमा तीन घर दलित परिवारको बसोबास छ । धनकी देवी लक्ष्मीको स्वागतका लागि ती घरका महिलाले लक्ष्मी पूजामा माटोको लेप लगाएको भित्तामा फूलको आकर्षक चित्र कोरेका थिए ।
“हुनेले पक्की घर चुना र निलले पोत्छन् । तर, हामीले फुसकै घरलाई राम्रो बनाउँछौं । यसमै दीपावली मनाउने गर्दछु”, लखौरीकी स्थानीय गुलोदेवी रामले बताउनुभयो ।
जनकपुरधाम छेउछाउमा बस्तीमा तीन दशकअघिसम्म पनि घरका भित्तामा जताततै मिथिला चित्रकला देख्न पाइन्थ्यो । तर परम्परागत मौलिक घरलाई पक्की घरले विस्थापन गर्दै लगेसँगै मिथिला चित्रकला बनाउने क्रम पनि घट्दै गएको छ । अब त बचेखुचेका कच्ची घरमा मात्र सामान्य चित्र कोरेको भेटिन्छ ।
“गरिब दुःखीले दीपावलीमा माटोको भित्ता भएको घरमा चित्र कोर्छन् । अब त अधिकांश पक्की घर भए । नत्र पहिला धेरै मानिसले घरमा चित्र बनाउँथे”, लखौरीका स्थानीय उपेन्द्र मण्डलले बताउनुभयो ।
महिलाको संस्कारसँग जोडिएको लोककलालाई सस्ंथागतरूपमा अगाडि ल्याउने काम सन् १९९२ मा जनकपुरधममा स्थापना भएको नारी विकास केन्द्रले गरेको हो । मिथिला पेन्टिङलाई आयआर्जन सँग जोड्न यो संस्थाले गरेको प्रयासलाई पछ्याउँदै मिथिलाकला सिर्जना गर्ने र विश्वभरि नै पेन्टिङ बिक्री वितरण गर्ने हाल दर्जनौं सस्ंथा छन् । यसको थप प्रचार प्रसारका लागि ६४ वर्षअघि निर्माण भएको जनकपुर चुरोट कारखानाको बाहिरी पर्खालको तीन हजार पाँच सय फिटमा मिथिला पेन्टिङ कोरिएको छ ।
५० जना कलाकारले सडक पेटीमा बसेर ब्रस र एक्रेलिक रंगले लहरै भित्तामा राम-सीताको विवाह समयको प्रतीकात्मक चित्र लगायत मिथिला संस्कृति, रहन सहन, खानपान र विविधता झल्काउने १६० वटा चित्र कोरेका छन् । यसका लागि मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले २० लाख रूपैयाँ खर्चेको छ ।
जानकारहरुका अनुसार माटोको भित्तामा मिथिला पेन्टिङ गर्दा प्राकृतिक रंग प्रयोग गरिन्थ्यो । तर, सिमेन्टको पर्खालमा पेन्टिङ गर्न थालेपछि अहिले एक्रेलिक रंगको प्रयोग हुन थालेको हो । मिथिला नरेश जनकले छोरी सीताको विवाहमा अयोध्याबाट आएका जन्तीको स्वागतका लागि जनकपुरधामका भित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्ती छ । मिथिला लोक चित्रले मिथिला सभ्यताको मौलिकतालाई धानेको छ ।