भक्तपुर । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु भएको छ । चाँगुनारायण नगरपालिकाको आयोजनामा ताथलीमा भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, सिन्धुपाल्चोक र रामेछापका गरी कुल ५५ समूहको सहभागिता थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे, दुई थान भूछ्या, दुई थान सिछ्या, दोस्रो हुनेलाई नगद २५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे, एक थान भूछ्या, एक थान सिछ्या, तेस्रो हुनेलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र तथा सान्वनालाई नगद ५ हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र, एक थान धिमे प्रदान गरिने छ । उत्कृष्ट प्रस्तुती गर्ने समूहलाई एक थान धिमे, दशौं स्थानसम्म प्राप्त गर्ने प्रत्येक समूहलाई एक एक थान भुछ्या र सहभागी सम्पूर्ण समूहलाई मायाको चिनो प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा नेवारी खाजा तथा खाना स्टल विशेष आर्कषकको रुपमा रहेको छ । प्रतिनिधिसभा सदस्य सुवालले यस्ता सांस्कृतिक प्रतियोगिताहरुले यहाँका कला र संस्कृति बचाइराख्न मद्दत पुर्याउने र पर्यटन उद्योगको विकास पनि हुँदै जाने बताउनुभयो ।
नगरकोट भ्रमण वर्ष २०८२ को पूर्वसन्ध्यामा आज ताथलीको ताथली फाँटमा प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सञ्चालन गरिएको नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । नगरपालिकाले घोषणा गरेको नगरकोट भ्रमण वर्ष २०८२ सफल पार्न वर्षभरी नगरभित्र पर्यटक केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरिने उहाँको भनाइ थियो ।