बुटवलवासी भन्छन्– विकासका योजना सुरु भए, पूरा भएनन्

पुस १८, २०८१ |अमृता अनमोल
बुटवलवासी भन्छन्– विकासका योजना सुरु भए, पूरा भएनन्

बुटवल । नागरिकको ढोका अगाडिको सरकार हो, स्थानीय सरकार । जसले व्यक्तिगत घटना दर्तादेखि विकास, न्याय र सशक्तीकरणमा काम गर्छ । आफैं योजना बनाउन र कार्यान्वयन गर्न सक्छ । कानुन बनाउन र प्रयोग गर्न पनि स्वतन्त्र छ । 

नागरिकको सबैभन्दा नजिकको सरकारले कसरी काम गरिरहेको छ त ? स्थानीय बासिन्दाको भोगाइ र अनुभव कस्तो छ ? स्थानीय मुद्दामा राष्ट्रिय बहस थालेको कान्तिपुर टेलिभिजनको ‘महानगर महाबहस’ अन्तर्गत बुटबल उपमहानगरमा छलफल आयोजना गरिएको छ ।

कार्यक्रममा बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले आफूले विकास योजना निर्माण, वितरण, कार्यान्वयन, ऐन निर्माण र सेवा सुधारमा गरेका प्रयासबारे जानकारी दिनुभयो । शैक्षिक गुणस्तर बढाउन सबै विद्यालयमा भौतिक पूर्वाधार विकास, जितगढी किल्लाको संरक्षण, परम्परा र संस्कृति संरक्षणमा नमुना काम गरेको दाबी पनि गर्नुभयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवललाई व्यावसायिक हबका रूपमा अगाडि बढाउन पर्यटन र औद्योगिक उत्पादन बढाउन सुझाव दिनुभयो । बुटवलमा रहेका प्राविधिक विद्यालय होस् वा उपमहानगरले सञ्चालन गर्ने सीप विकास कार्यक्रम, यसमा आत्मनिर्भर र रोजगारीमा जोडिने विषय समावेश गर्न उहाँले आग्रह गर्नुभयो । 

‘उपमहानगरले बजारको माग र आवश्यकताअनुसारका सीप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ । उत्पादित जनशक्ति बजारमा खपत भएमा मात्रै व्यवसायी र सरकारबीच तारतम्य मिल्नेछ,’ उहाँले भन्नुभयो ।

मानवअधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले शैक्षिक हब बुटवलको विकास गर्न बालकक्षादेखि नै शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले सामुदायिक विद्यालयमा कुनै पनि बहानामा शुल्क नउठाउन पनि माग गर्नुभयो । बहसमा सहभागी आधा दर्जन विद्यार्थीले पनि बुटवलको शैक्षिक प्रतिष्ठा बचाउन र विपन्न बालबालिकाले पनि सहज रूपमा शिक्षा पाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

अधिकारकर्मी माया गौतमले बाल स्वास्थ्यलाई अझ प्रभावकारी बनाउन र पर्याप्त पानी ल्याउन पहल गर्न उपमहानगरलाई आग्रह गर्नुभयो । ‘झुम्साको पानी कहिले आउँछ ? बुटवलवासीले पर्याप्त खानेपानी कहिले पाउँछन् ?’-उहाँले प्रश्न गर्नुभयो । एमाले रूपन्देहीका उपमहासचिव बाबुराम पन्थीले बुटवलको पर्यटन विकास, भौतिक पूर्वाधार, व्यवस्थित बसाइ योजनालगायतमा अघिल्लो कार्यकालमा सुरु भएका योजना अलपत्र पारिएको आरोप लगाउनु भयो । जोसुकैले जिते वा हारे पनि विकासमा राजनीति गर्न नहुने उहाँको सुझाव थियो ।

बहसमा सहभागी स्थानीयले बुटवलमा विकासका थुप्रै सम्भावना रहेको, विकास योजना सुरु भएको तर पूरा हुन नसकेको बताए । लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष मञ्जु भुसालले विकास निर्माण ठेक्कादेखि कार्यान्वयनमा गुणस्तर कायम गर्न माग गर्नुभयो । ‘विकासमा रकम खर्चनु मात्र ठूलो कुरा होइन, गुणस्तरीय निर्माण भयो भएन भनेर पनि हेरिनुपर्छ,’ उहाँले भन्नुभयो ।

सामाजिक विकासका आयाममध्ये अपांगता, समावेशिता र लैंगिकतासम्मका विषय सहभागीले उठाएका थिए । राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सावित्रा घिमिरेले अपांगतामैत्री सेवा नहुँदा धेरैले सरकारी सेवासुविधा लिन नपाएको भन्दै सुधार गर्न सुझाव दिनुभयो । उहाँले घरघरमा पुगेर अपांगता भएका व्यक्तिको परिचय बनाएकोमा उपमहानगरको प्रशंसा पनि गर्नुभयो । 

मानवअधिकारका लागि एकल महिला समूह रूपन्देहीका सचिव रिता सेनले ती नीतिबारे बहस र छलफल नगर्दा नगारिकले थाहा नपाएको गुनासो गर्नुभयो । कानुनको विद्यार्थी मञ्जिला ज्ञवालीले छाडा पशुचौपायाका कारण दुर्घटना बढाएको भन्दै तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

बुटवल उपमहानगरको नगरप्रमुखका लागि भएको चुनावमा दोस्रो हुनुभएका बाबुराम भट्टराईले चुनावमा वाचा गरेअनुसार जनप्रतिनिधिले काम गर्न नसकेको आरोप लगाउनु भयो ।

बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा अर्यालले उपमहानगरमा काममा दलीय मतभेद नभएको बताउनु भयो । उहाँले बजेट निर्माण, योजना अनुगमन, राजस्व र न्यायिक समितिमा बिनाहस्तक्षेप काम गरेको दाबी गर्नुभयो ।

उपमहानगर प्रमुख पाण्डेयले आफू आएपछि उपमहानगरले संघ र प्रदेश सरकारबाट अपेक्षाअनुसार विकास बजेट नपाएको बताउनु भयो । त्यसले कतिपय स्थानीय योजना समस्यामा परेको उहाँले दाबी गर्नुभयो । ‘बुटवलमा संघ र प्रदेशले सुरु गरेका विकास योजना धेरै अलपत्र छन् । ती योजना उपमहानगरकै हुन् भन्ने नागरिक बुझाइ छ । यसैले हामीले गाली खानुपरेको छ,’ उहाँले भन्नुभयो ।

जनप्रतिनिधिले तुरुन्त गुनासो सुन्ने, दैनिक हेल्प डेक्स र नियमित सार्वजनिक सुनुवाइमार्फत नागरिकलाई सुविधा दिएको उहाँको भनाइ थियो ।

महानगर महाबहस आज राति ९ बजे कान्तिपुर टेलिभिजनका साथै कान्तिपुर टिभीको एप र युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement