काठमाडौं । आज काठमाडौँसहित देशभरको मौसम बदली भएको छ । केही ठाउँमा हल्का वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुँदा चिसो बढेको हो ।
शुक्रबार साँझदेखि भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव भोलिदेखि कमजोर हुँदै गएर मौसममा क्रमिक रुपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएका कारण देशभर मौसममा बद्ली भइ केही ठाउँमा वर्षा र हिमपात भएको हो ।
भोलि पनि हिमाली जिल्लाका थोरै स्थानमा हिमपातको सम्भावना छ । तराई तथा पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहे पनि भोलिदेखि वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । सोमबारदेखि मौसम सफा हुने छ । अहिले कमजोर प्रणाली भित्रिएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।
अहिले विकसित भएको प्रणाली हटेपछि बिहान र बेलुका चिसो भने बढ्ने महाशाखाले जनाएको छ ।