'बीआरआई फ्रेमवर्क सम्झौताले नेपाललाई ऋण लिने ढोका पनि खुला राखेको छ'

मंसिर २४, २०८१ |रुपेश श्रेष्ठ
'बीआरआई फ्रेमवर्क सम्झौताले नेपाललाई ऋण लिने ढोका पनि खुला राखेको छ'
काठमाडौं । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले देशको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा बढाउने हो भने अनुदानले नपुग्ने बताउनुभएको छ।

द्रुततर आर्थिक वृद्धिका लागि ऋणको विकल्प नभएको उहाँको भनाइ छ। कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुराकानी गर्दै खतिवडाले चीनसँगको बीआरआई फ्रेमवर्क सम्झौताले ऋण लिने विषयलाई पनि खुला राखेको बताउनुभयो । चीनसँगको सम्झौतामा नेपालमा आयोजनाहरु अघि बढाउनका लागि अनुदानको साटो वित्तिय सहायताको विषय उल्लेख गरिएको जानकारी दिँदै खतिवडाले नेपालले आफ्नो आवश्यकताका आधारमा कस्तो प्रकारको सहायता लिने भन्ने पनि नेपालले नै निर्णय गर्न सक्ने गरि सहमति गरिएको बताउनुभयो।

कार्यक्रम फायरसाइडमा पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले चीनसँगको सम्झौताका बारेमा विस्तारमा जानकारी दिनुभएको छ। खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागि हुनुहुन्थ्यो।

अर्थतन्त्रका सूचकहरुमा सुधार आउनै नसकेको विषयमा खतिवडाले चिन्ता व्यक्त गर्नुभयो। केहि सूचकहरुले सुधारका संकेतहरु देखाए पनि त्यो पर्याप्त नभएको उहाँको धारणा थियो। बैंकहरुमा लगानीयोग्य रकम थुप्रिए पनि उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्नु चिन्ताजनक रहेको उहाँले बताउनुभयो।'प्रधानमन्त्रीलाई तपाईँले कस्तो सल्लाह दिइरहनुभएको छ ? अर्थतन्त्र सुधार त देखिँदैन नि!' भन्ने प्रस्तोता रुपेश श्रेष्ठको प्रश्नमा खतिवडाले आफूले पूरक बजेट ल्याउनेसम्मको सल्लाह दिएको बताउनुभयो। 

कार्यक्रममा प्रस्तोता श्रेष्ठको अर्थमन्त्रालय तपाईँले चलाउनुहुन्छ कि विष्णु पौडलले चलाउनुहुन्छ भन्ने प्रश्नमा खतिवडाको जवाफ हेर्न लायक छ।साथै, कार्यकारी प्रमुखको नजिक रहेर सरकारका काम हेर्दा आशा बढी हुन्छ कि पीडा बढी हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीको निर्देशनअनुसार समयमा काम हुन नसकेको देख्दा पीडा हुने बताउनुभयो।

काम हुन नसकेकोमा राजनीतिक नेतृत्वले कर्मचारी संयन्त्रलाई लगाउने दोष, बुढीगण्डकी आयोजनामा भइरहेको ढिलाइजस्ता विषयमा पनि खतिवडासँग संवाद गरिएको छ। 

खतिवडाले अर्थतन्त्रका सूचकहरुले मात्रात्मक सुधार देखाउन नसकेकोमा चिन्ता व्यक्तसमेत व्यक्त गर्नुभयो। कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि कार्यक्रम हेर्न सकिनेछ । 


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement