काठमाडौं । नेपालसँगको सम्बन्ध सुधारका लागि पहिलो पहल भारतले नै गर्नु पर्ने भारतीय राजनीतिक चिन्तक योगेन्द्र यादवले बताउनु भएको छ । नेपाल र भारतबीच झन्डै एक दशक यता आएको चिसोपनामा सुधार नभएकोमा चिन्ता व्यक्त गर्दै भारतले नेपालप्रतिको आफ्नो दृष्टिकोण पुनर्विचार गर्न आवश्यक रहेको उहाँले औंल्याउनु भयो ।
कान्तिपुर टेलिभिजनको सोमबार प्रसारित कार्यक्रम फायरसाइडमा कुरा गर्दै यादवले भारतले आफ्ना छिमेकी मुलुकहरूसँगको सम्बन्धमा समीक्षा गर्नु पर्ने सुझाव दिनु भयो । उहाँले भन्नु भयो, “कुनै पनि निकट छिमेकी मुलुकहरूसँग भारतले सम्बन्ध सुदृढ बनाउन सकेको छैन । नेपाल बाहेक बंगलादेश, श्रीलंका लगायत मुलुकहरूसँग पनि भारतको सम्बन्ध सन्तोषजनक देखिँदैन ।”
उहाँका अनुसार, भारत जस्तो ठूलो राष्ट्रले यस विषयमा सोच्नु पर्ने भइसकेको छ । उहाँले प्रश्न गर्नुभयो, “भूगोल र जनसंख्या जस्ता कारणले भारत क्षेत्रीय रूपमा ठूलो देश हो । तर आफ्ना सबैजसो छिमेकीहरूसँग उसको सम्बन्ध किन तिक्तपूर्ण छ ? कुनै एक मुलुकसँग मात्र सम्बन्ध बिग्रिएको भए फरक कुरा हुन्थ्यो । तर वरिपरिका सबैजसो मुलुकहरूसँग सम्बन्ध बिग्रिएको स्थितिमा भारतले आफ्ना कमजोरीबारे आत्मसमीक्षा गर्नु पर्ने आवश्यकता छ ।”
नेपालसँगको सम्बन्ध सुधारका लागि भारतले नै पहिलो पहल गर्नु पर्ने उहाँको तर्क छ ।
अर्को सन्दर्भमा, लोकसभा निर्वाचनले भारतका विपक्षी दलहरूलाई बलियो बनाएको उल्लेख गर्दै यादवले हालको संसद् जीवन्त बनेको बताउनु भयो । उहाँले भन्नुभयो, “प्रतिपक्ष बलियो हुँदा मात्र लोकतन्त्र सबल हुन्छ । अहिले संसद्मा बहस हुन थालेको छ, सरकारप्रतिको आलोचना सुन्ने वातावरण बनेको छ । यसले सरकारलाई सजग रहन सघाएको छ ।”
आम आदमी पार्टीका संस्थापक सदस्यमध्येका एक यादवले वैकल्पिक राजनीतिको थालनी भए पनि आम आदमी पार्टीले त्यसलाई संस्थागत गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले टिप्पणी गर्नु भयो, “आम आदमी पार्टी राजनीतिमा परिवर्तन ल्याउन आएको थियो, तर राजनीतिले उसैलाई परिवर्तन गरिदियो ।”
ठूला उद्योगपति र धनाढ्यहरूको प्रभावका कारण राजनीति जनमुखी हुन नसकेको र आम आदमी पार्टी पनि त्यसैको प्रभावमा परेको उहाँको धारणा थियो ।
यस्तै, वैकल्पिक विचारहरूको निरन्तरताले लोकतन्त्रलाई सही मार्गमा अघि बढाउन मद्दत गर्ने तर्क गर्दै यादवले भारतीय राजनीतिमा सक्रिय कम्युनिस्ट दलहरूले सन्तुलन कायम गरेको स्मरण गर्नु भयो । “नयाँ राजनीतिक शक्तिहरूको उदय स्वाभाविक प्रक्रिया हो । तर ती शक्तिहरूले आफ्नो मौलिकता कायम राख्नु पर्ने चुनौती रहन्छ,” उहाँले भन्नु भयो ।
सरकारलाई सही मार्गमा अघि बढाउन साना-ठूला आन्दोलनले निरन्तरता पाउनु पर्नेमा जोड दिँदै उहाँले लोकतन्त्रको रक्षा केवल निर्वाचन मार्फत मात्र सम्भव नहुने धारणा राख्नु भयो । उहाँले भन्नु भयो, “लोकतन्त्र भनेको घर सफा गरे जस्तै हो । एक दिन सफा गरेर मात्र पुग्दैन, हरेक दिन यसको सरसफाइ गर्न आवश्यक छ । सरकारलाई उत्तरदायी बनाउन जनताले निरन्तर सजग रहनु पर्छ ।”
भारतीय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो’ अभियानमा समेत सहभागी यादवले त्यस्ता आन्दोलन र अभियानहरू राजनीतिलाई जनतासँग जोड्न महत्त्वपूर्ण हुने बताउनु भयो ।
भारतीय मिडियाको भूमिकाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यादवले सत्ताको पक्षपोषण मात्र गर्ने प्रवृत्तिलाई आलोचना गर्नु भयो । उहाँले भन्नु भयो, “नेपालका मिडियाबारे स्पष्ट भन्न सक्दिनँ, तर भारतका अधिकांश टेलिभिजन च्यानलहरू अझै पनि सत्ताको भक्तिमै लागिरहेका छन् ।”
हेर्नुहोस्, योगेन्द्र यादवसँगको फायरसाइड
उहाँले केही साताअघि कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभ कार्यक्रममा पनि मिडियाले लोकतन्त्रको खम्बाका रूपमा भूमिका निर्वाह गर्नु पर्नेमा सत्ताको प्रभावमा पर्ने खतराबारे आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
योगेन्द्र यादव मोदी सरकारको प्रखर आलोचना, निर्वाचन र चुनावको नतिजाको विश्लेषण, आधारभूत तहसम्म राजनीतिक अभियानहरू पुर्याउने कार्य लगायतका लागि परिचित हुनुहुन्छ ।