दुर्गा प्रसाईलाई २ दिनभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाईलाई २ दिनभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई २ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश मनोज शर्माको एकल इजलासले २ दिनभित्र बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो । प्रसाईंको हकमा छोरा निराजन प्रसाईंले मङ्सिरको ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्नुभएको थियो ।

प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अर्को सुनुवाइमा बन्दीसहित उपस्थित हुन सर्वोच्चको एकल इजलासले आदेश गरेको छ।

यसैबीच, प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ पुर्‍याइएको छ। उहाँलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अनुमति माग गरेको छ। अदालतले बहसपछि म्यादको बारे निर्णय लिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.