सुप्रिम सहकारी बचत अपचलन : रुपन्देहीमा रविको बयान जारी

कार्तिक २७, २०८१ |अमृता अनमोल
सुप्रिम सहकारी बचत अपचलन : रुपन्देहीमा रविको बयान जारी

बुटवल । सुप्रिम सहकारीको बचत ठगीमा अनुसन्धानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेको अहिले अदालतमा बयान जारी छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सुप्रिम सहकारीको बचत ठगीमा अनुसन्धानका लागि आज रुपन्देही ल्याइएको हो ।

लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान भइरहेको छ । उहाँ कडा सुरक्षाका बीच सरकारी वकिलको कार्यालयले बयान लिइरहेको छ । बयान साँझ ६ बजेसम्म जारी रहने बताइएको छ ।

पोखराबाट मध्याह्न सवा १२ बजे भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ल्याइएका लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा ल्याइएको हो । दिउँसो करिब १ बजेबाट उहाको वयान सुरु गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । 

भैरहवामा सरकारी वकिलको कार्यालय आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचान गरिएको छ । कार्यालय आसपासमा संचारकर्मीलाई पनि प्रवेश रोकिएको छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जीतसिंह राठौरले सम्भावित घटना रोक्न सुरक्षाव्यवस्था चुस्त बनाइएको बताउनुभयो ।

सरकारी वकिल कार्यालयको केही पर बुद्धचोक र लुम्बिनी गेट अगाडि रास्वपा कार्यकर्ता र सहकारी पीडितहरुले छुट्टाछुट्टै प्रद्धर्शन गरेका छन् । दुवै पक्षले सहकारी ‘पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, स्वतन्त्र न्याय सम्पादन गर’ लगायतका नारा लगाएका छन् ।

पोखराबाट बिहान पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी गरिएपनि मौसम खराब भएकाले उहाँलाई मध्याह्नमात्रै बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएकोथियो ।

रुपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको अनुमतिअनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही ल्याइएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन् ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement