कसरी अघि बढ्दै छ मानव तस्करीमा लीला बल्लभमाथिको अनुसन्धान ?

कार्तिक २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कसरी अघि बढ्दै छ मानव तस्करीमा लीला बल्लभमाथिको अनुसन्धान ?

काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेर मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

गत कार्तिक १४ गते पूर्वमन्त्री अधिकारीसहित चार जनालाई जापानको अध्यागमनले फिर्ता गरिदिए पछि प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज नै जिल्ला अदालत काठमाडौंबाट अधिकारीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । त्यसैका आधारमा विराटनगरमा पक्राउ गरेर काठमाडौं ल्याइएको हो । 

आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ । यसअघि पक्राउ परेका ६ जनालाई चार दिन थुनामा राख्ने अनुमति लिएको प्रहरीले पूर्वमन्त्री अधिकारीलाई सोही दिनको मिलान म्याद लिएको हो । मन्त्री अधिकारीले पदीय मर्यादा विपरीत अन्य तीन जनालाई सँगै लिएर गएको आरोप लागेको छ । 

बिचौलिया तथा मानव तस्करको योजना अनुसार भिजिट भिसामा कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयको कर्मचारीको परिचय पत्र समेत बनाइएका तीन जना जापान पुगेका थिए । जापान पठाउने गिरोहमध्येका ३ जना र नक्कली परिचयपत्र बनाएर गएका ३ सहित ६ जना यसअघि नै हिरासतमा छन् । पूर्वमन्त्री पक्राउ परेपछि सबैजना विरुद्ध मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौंका उपरीक्षक नवराज अधिकारीले बताउनु भयो ।

जापानस्थित टोकियो महानगरपालिका समेतको आयोजना रहेको भनिएको कार्यक्रम थियो कि थिएन भन्ने जानकारी लिने प्रहरीको तयारी छ । मन्त्रीले आपराधिक समूहसँगको सम्बन्धबाट फाइदा लिएको बारे पनि प्रहरीले थप खोजी गर्नेछ । 

केही व्यक्ति अझै फरार रहेकाले मन्त्रीको संलग्नता खुल्न बाँकी रहेको हो । जापानमा मानव तस्करी गर्ने गिरोह नै रहेको हुन सक्ने प्रहरीको आशंका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.