बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

आश्विन २६, २०८१ |नारायण किलम्बू
बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

काठमाडौं । बाढीपहिरोको दुई साताबित्दा पनि सरकारले क्षतिग्रस्त विद्यालयको विवरण नै संकलन गर्न सकेको छैन । दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको शिक्षा मन्त्रालयको प्रारम्भिक आकलन छ । दशैंपछि अस्थायी सिकाई केन्द्र-टीएलसी निर्माण गरेर ती विद्यालयको पठनपाठन पुन: सञ्चालन गर्ने योजना शिक्षा मन्त्रालयको छ । क्षति पुगेका विद्यालयको मर्मत र अस्थायी टहरा निर्माणका लागि सरकारले ५४ करोड बजेटको व्यवस्था गरेको छ । 

यही असोज ११ र १२ गतेको बाढीपहिरोबाट २८ जिल्लाका करिब दुई सय शिक्षण संस्थामा क्षति पुगेको प्रारम्भिक विवरण छ । तीमध्ये पूर्णरुपमा क्षतिग्रस्त विद्यालय दुई दर्जनभन्दा बढी छन् । तर बाढीपहिरो गएको दुईसाता बित्दासमेत शिक्षा मन्त्रालयले काठमाडौंसहित प्रभावित जिल्लाको विवरण नै संकलन गर्न सकेको छैन् । क्षतिग्रस्त विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्र-टीएलसी निर्माण गरि चाडपर्वलगत्तै पठनपाठन सञ्चालन गर्ने शिक्षा मन्त्रालयको योजना छ ।

बाढी पहिरोका कारण १८ विद्यार्थीको मृत्यु भएको छ । क्षतिग्रस्त विद्यालयमा बाढी र पहिरो पसेर धेरै विद्यार्थीको पाठ्यपुस्तक र शैक्षिक सामग्रीसमेत काम नलाग्ने अवस्थामा पुगेका छन् । कतिपय विद्यालय डुवानमा परेर ल्याबका कम्युटरहरु काम नलाग्ने गरी क्षति पुगेका छन् ।

क्षतिग्रस्त विद्यालयको मर्मत र अस्थायी सिकाई केन्द्र निर्माणका लागि ५४ करोड रुपैया बजेट प्रवन्ध गरिसकिएको शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालयमा विपद व्यवस्थापनका लागि सरकारले प्रतिप्रदेश दुई करोड र स्थानीय तहहरुलाई ६ लाख रुपैयाँका हिसावले विनियोजनसमेत गरिसकेको छ ।

दशैलगत्तै पठनपाठन सञ्चालन गरिने शिक्षा मन्त्रालयको दाबी छ । तर अहिलेसम्म क्षतिग्रस्त शिक्षण संस्थाहरुको विवरण नै संकलन गर्न नसकिरहेको अवस्थामा अस्थायी सिकाई केन्द्र निर्माण गरेर दशैपछि पठनपाठन सुरु गर्ने अवस्था सिर्जना होला भनेर विश्वास गर्न सकिने अवस्था छैन ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement