दशैँको छैटौँ दिन, पञ्चमी तिथि परेकाले आज देवी स्कन्दमाताको पूजाआराधना गरिँदै

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशैँको छैटौँ दिन, पञ्चमी तिथि परेकाले आज देवी स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ देवी- स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

छैटौँ दिन भएपनि पञ्चमी तिथि परेकाले आज स्कन्दमाताको पूजा आराधना गरिएको हो । चौथी तिथि वृद्धि भएकाले पाँचौँ दिन सोमबार पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । 

छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनु भएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । 

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । 

दुर्गा पक्षसमेत भनिने दसैँको पूजाविधि अनुसार पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । 

दुर्गाका यिनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका अवसरमा शक्ति पीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement