भक्तपुरमा भोलि नै फूलपाती भित्र्याइँदै

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरमा भोलि नै फूलपाती भित्र्याइँदै

भक्तपुर । भक्तपुरमा यस वर्षको फूलपाती भोलि नै भित्र्याइने भएको छ । नेपाल पंचाङ्ग निर्णायक समितिले असोज २४ गते फूलपाती भित्र्याउने निर्णय गरेपनि भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी, आचाजु, जोशीलगायत सरोकारवाला निकायसँग बैठक बसी भोलि नै फूलपाती मनाउने निर्णय गरेको हो ।

नगरभित्र भोलिदेखि मोहनी नख र विजया दशैँको सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । यस्तै असोज २४ गते कुलछि भोय्, २५ गते ताँःपूजा र २६ गते विजया दशमी पूजा गरी मनाइन भएको हो ।

भक्तपुरमा तलेजुको निर्णय अनुसार विभिन्न चाडपर्व मनाउदै आइएको छ । भक्तपुरको तलेजुका मूल पुजारी र नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले असोज २३ गते फूलपाती भित्राउने निर्णय यस अघि नै गरेका थिए ।

बैठकले २०८१ आश्विन २३ गते बुधबार बिहान ७ : ३४ बजेदेखि सप्तमी तिथि लाग्ने हुँदा फूलपाती मनाउने, आश्विन २४ गते बिहीबार बिहान ७ : २७ बजेदेखि अष्टमी तिथि लाग्ने हुँदा अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार बिहान ६ : ५२ बजेदेखि नवमी तिथि लाग्ने हुँदा महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँ : पूजा) गर्ने र आश्विन २६ गते शनिबार विजया दशमी पूजा गर्ने निर्णय गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement