अपडेट : पहिरोमा हराएका एन्फा एकेडेमीका ६ जना छात्रकै मृत्यु

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपडेट : पहिरोमा हराएका एन्फा एकेडेमीका ६ जना छात्रकै मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

अन्य ३४ बालक सकुशल रहेका छन् । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्र सरोवर भरिएर शनिबार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले बताउनुभयो ।

मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेका छन् । मृतक घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका छोरा हुन् । मृतक सबैको शव पोस्टमार्टमका लागि हेटौंडा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले बताउनुभयो ।

सकुशल रहेका अन्य विद्यार्थीहरुलाई भने सेनाको हेलिकोप्टर मार्फत काठमाडौ पठाइने उहाँले बताउनुभयो । मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए । अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।

यसैगरी बागमती गाउँपालिका -३ सुख्खा सल्लेनीमा पहिरोले घर बगाइ घरले थिचेर २० वर्षकी फूलमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement