अपडेट : बाढीपहिरो र डुबानमा परि काठमाडौं उपत्यकामा ३४ सहित ५७ जनाको मृत्यु

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
 अपडेट : बाढीपहिरो र डुबानमा परि काठमाडौं उपत्यकामा ३४ सहित ५७ जनाको मृत्यु

काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण ५७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले ४४ जना बेपत्ता र ३६ जना घाइते भएको जनाएको छ । देशभरको जनजीवन प्रभावित बनेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ । हराइरहेकाहरुको खोजी जारी छ ।

भक्तपुरको आसापुरीमा २ र पलासेमा गर्भवती महिलासहित ३ जना गरी पाँच जनाको मृत्यु भएको हो। यस्तै ५६ जनालाई उद्धार गरी कौशलटारस्थित जनस्मृति विद्यालयमा राखिएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशस्त्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ ।

ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा तीन जनाको उद्धार गरिएको छ । यसैगरी गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अविरल वर्षाका कारण बागमती, बिष्णुमती, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुबानले ठूलो धनमालको पनि क्षति भएको छ ।

उपत्यकाका अधिकांश नदी किनारका वस्ती डुबानमा परेका छन् । थुप्रै क्षेत्र जलमग्न बनेका छन् । बाढीले उपत्यकाका सयौं घर डुब्दा स्थानीयको बिचल्ली भएको छ । मनोहरा, बागमती, विष्णुमतीलगायतका नदीमा आएको बाढी करिडोर पार गरेर बस्तीसम्मै पसेको छ ।

स्थानीयले यति ठूलो बाढी वर्षौयता नदेखेको बताएका छन् । बागमती, विष्णुमती, मनोहरा नदीमा बाढी आउँदा आसपासका बस्ती डुबेका छन् । बाढीले च्यासल, टेकु, बल्खु, नख्खु,गोंगबु क्षेत्र डुबेका छन् । 

बागमती-मनोहरा दोभानमा बाढीले ग्यास ट्याङ्कर नै बगाएको स्थानीयले बासिन्दाले बताएका छन् । च्यासलमा नेकपा एमालेको पार्टी कार्यालय र फुटबल मैदानसहितको तटीय क्षेत्र डुबानमा परेको छ । ललितपुरको नख्खु -कुसुन्ती क्षेत्र पनि बाढीले प्रभावित बनेको छ । भक्तपुरमा राधेराधे क्षेत्र र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement