गोरखाको चुमनुब्रीमा हिमपात र पहिरो, सहिद लखनमा बाढीले झोलुङ्गे पुल बगायो

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
गोरखाको चुमनुब्रीमा हिमपात र पहिरो, सहिद लखनमा बाढीले झोलुङ्गे पुल बगायो

गोरखा । लगातारको वर्षा सँगै गोरखाको उत्तरी दुर्गम भेग चुमनुब्रीका केही ठाउँमा हिमपात र केही ठाउँमा पहिरो गएको छ । चुमनुब्री गाउँपालिका- १ साम्दोमा हिउँ परेको हो । मनास्लु पदमार्गमा पर्ने समुद्री सतहदेखि ३ हजार ८ सय ७७ मिटर उचाईमा रहेको साम्दोमा हिउँ परेर चिसो बढेसँगै जनजीवन प्रभावित बनेको स्थानीयको भनाइ छ ।

लार्केपास पदमार्गका लागि हिडेका पर्यटकहरु पनि हिमपातले होटलहरुमै रोकिएका छन् । त्यस्तै लगातारको वर्षाले चुमनुब्री-२ मा पहिरो जाँदा १ घर र १ होटलमा क्षति पुग्नुका साथै हिड्डुल गर्ने मूल बाटो नै अवरुद्ध भएको छ । त्यस्तै चुमनुब्री गाउँपालिका-३ मा पाङसिङमा पहिरोमा जाँदा ३ घरमा क्षति पुग्नुका साथै खानेपानी आयोजनामा समेत क्षति पुगेको छ ।

यस्तै गोरखाको सहिद लखन गाउँपालिका-४ ठेउवाटार र पृथ्वीराजमार्ग जोडने त्रिशूली नदी माथिको झोलुङ्गे पुल बाढीले बगाएको छ ।  गोरखाकै घ्याल्चोक र धादिङ्गको धवादीघाटमाथि भएको पुल बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । 

त्यस्तै गोरखाको बुट्टारस्थित त्रिशूली सुपर हाइड्रोपावर निर्माण स्थलमा रहेको ३ वटा टिप्पर, दुईवटा एक्साभेटर र एउटा जेसीभी शुक्रबार राति त्रिशूली नदीमा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखा डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement