२०८० को एसईईमा चार लाख ६४ हजार विद्यार्थीमध्ये ५२ प्रतिशत अर्थात दुई लाख ४२ हजार ३ सय १३ जना फेल भए । तीमध्ये गणितमा १ लाख ७७ हजार, विज्ञानमा १ लाख २६ हजार र अँग्रेजीमा १ लाख १६ हजार विद्यार्थी फेल भएपछि सरकारले धेरैभन्दा धेरै विद्यार्थी पास गराउने नीति लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक अभावका कारण महत्वपूर्ण विषयहरुमा धेरै विद्यार्थी फेल भएको भन्दै अनलाइन कक्षामार्फत् ७० प्रतिशत विद्यार्थी पास गराउने व्यवस्था गर्न निर्देशन दिनु भएको थियो ।
यसपालि एसईईका लागि करिब ५ लाख विद्यार्थीले आवेदन फारम भरिसकेका छन् । प्रधानमन्त्रीले गणित, विज्ञान र अँग्रेजी विषयको अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिए पनि शिक्षा मन्त्रालयको तयारी भने शून्य छ । त्यसो त, सरकारले कक्षा ६ देखि १२ सम्म रेडियो नेपालबाट श्रव्य पाठहरु र कक्षा १ देखि १० सम्मका कक्षाहरु टेलिभिजनमार्फत् सञ्चालन गर्दै आएको छ । तर, खासै प्रभावकारी हुन सकेको छैन ।यतिमात्र होइन सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थी विपन्न समुदायका हुने भएकाले सूचना प्रविधि इन्टरनेटको पहुँचबाट टाढा छन् । कोभिड महामारीका बेला पनि सरकारले अनलाइन माध्यमबाट शिक्षण सिकाइ गरे पनि प्रभावकारी हुन नसक्दा विद्यार्थीको सिकाइ कमजोर भएको थियो । यो हिसाबले प्रधानमन्त्रीले भनेजस्तो अनलाइन कक्षाको व्यवस्था गरिँदा के एसईईमा ७० प्रतिशत विद्यार्थी पास होलान् ?
२०७५ सालको शिक्षा मन्त्रालय दरबन्दी मिलान प्रतिवेदन अनुसार माध्यामिक तहमा अँग्रेजी, गणित, विज्ञान लगायतका विषयहरुमा १९ हजार शिक्षक अभाव छ । तर, सरकारले २५ वर्षदेखि शिक्षकको नयाँ दरबन्दी थप्न सकेको छैन भने भएका शिक्षकलाई पनि पाठ्यक्रम परिमार्जनअनुसार क्षमता अभिवृद्धि गर्न सकेको छैन । त्यसैले सरकारले अनलाइन कक्षालाई भन्दा शिक्षकको क्षमता अभिवृद्धि, दरवन्दी थप र विद्यार्थीको सिकाइ उपलव्धि बढाउन ध्यान दिन आवश्यक छ ।