३२ हात अग्लो लिङ्गो उठाएपछि सुरु भयो इन्द्रजात्रा

भाद्र ३०, २०८१ |नारायण किलम्बू
३२ हात अग्लो लिङ्गो उठाएपछि सुरु भयो इन्द्रजात्रा

काठमाडौंमा ८ दिनसम्म मनाइने प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । काठमाडौंको हुनमानढोका परिसरमा धार्मिक विधिपूर्वक पूजाआजा एवं हवन गरी शुभ साइतमा ३२ हात अग्लो य सिं द्यो अर्थात् लिङ्गो उठाएपछि जात्रा सुरु भएको हो । इन्द्रजात्रालाई नेवार समुदायमा यँया पुन्हि भनिन्छ । 

हनुमानढोका दशैंघरका मूल पुजारीबाट धार्मिक विधिपूर्वक पुजाआजा गरी विहान ८ बजेर २८ मिनेटको शुभसाइतमा ४ वटा डोरीको सहायताले तानेर लिङ्गो उठाइएको हो । भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात् जंगलबाट ल्याइएको लिङ्गो मानन्धर समुदाय लगायतले डोरी तानेर उठाउने प्रचलन छ । इन्द्रध्वजासहितको लिङ्गो उठाएपछि शुरु हुने इन्द्रजात्रामा जीवित देवी कुमारी, गणेश र भैरवको रथजात्रासँगै विभिन्न देवीदेवताको नाचसमेत हुछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजा सहितको लिङ्गो उठाएर शुरु हुने जात्रा भक्तपुर र ललितपुरमा पनि भिन्नाभिन्नै किसिमले मनाइन्छ। भक्तपुरमा जात्राको पहिलो दिन टोलटोलमा इन्द्रमूर्ति सहित यमद्यो लिङ्गो उठाइने चलन छ । आमा वसुन्धरालाई पूजाका लागि पारिजातको फूल लिन आएका इन्द्रलाई फूल टिप्ने क्रममा चोर भनि बाँधेर राखेको र विजयको प्रतिकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको धार्मिक किंवदन्ती छ ।

इन्द्रजात्रा प्रारम्भकै दिन काठमाडौंका रैथाने नेवार समुदायले वर्षभरि आफ्नो परिवारजनको मृत्यु भएको सम्झनामा धूप-बत्ती बालेर उपाकु पर्वसमेत मनाउँछन् । इन्द्रजात्राको लिङ्गोसहित देवीदेवताको नाच हेर्नाले सुख समृद्धि हुने जनविश्वास छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement