काठमाडौं । विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्राले विराटनगरको विभिन्न ठाउँ परिक्रमा गरी फेरि तीनपैनीस्थित मन्दिरमा आएर समापन हुन्छ । यसपटकको रथयात्रा पाँच लाख बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।
बिक्रम सम्वत् १९८८ सालदेखि भगवान श्रीराधाकृष्ण आरुढ खटलाई नगर परिक्रमा गराउने विराटनगरको प्रचलनले अहिलेसम्म निरन्तरता पाएको छ । २०२४ सालदेखि यो खटयात्रालाई रथयात्रामा परिणत गरेपछि यसको भव्यता र महत्व बढेको को हो ।
कोभिड १९ महामारीका कारण २०७७ र २०७८ सालको रथयात्रा भएन । रथयात्राको परम्परालाई निरन्तरता दिन यी दुई वर्ष भगवान श्रीराधाकृष्ण आरुढ खटलाई ट्रकमा राखेर नगर परिक्रमा गराइएको थियो ।
राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा, गोल्छा चोक, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक, रोडशेष चोकबाट फर्काएर कोशी राजमार्ग हुँदै महेन्द्र चोक, शनी मन्दिर चोक, भृकुटी चोक, बरगाछी चोकहुादै पुनः तीनपैनी स्थित राधाकृष्ण मन्दिरमा ल्याएर सम्पन्न गरिन्छ ।
रथको डोरी ताने मनोकांक्षा पूरा हुने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । पूर्वाञ्चलकै साँस्कृतिक महत्व बोकेको यो ऐतिहासिक रथयात्रालाई विराटनगरवासीले पर्वकै रुपमा लिने गरेका छन् । विराटनगरकै सिको गरेर पछिल्लो समय सुनसरीको इनरुवा, दुहबी, मोरङको विराट चोक, झापाको दमक लगायतका ठाउामा रथयात्रा निकाल्न थालेपनि विराटनगरको रथयात्राको भव्यतामा कुनै कमी आएको छैन् ।