पन्ध्र वर्षदेखि खोरमा थुनिएका मकवानपुरका हिराबहादुर तामाङको उद्धार

हेरचाहको जिम्मा सियान पुनर्स्थापना केन्द्रले लियो
उपचार खर्च मनहरी गाउँपालिकाले बेहोर्दै
भाद्र ८, २०८१ |बालकृष्ण अधिकारी
पन्ध्र वर्षदेखि खोरमा थुनिएका मकवानपुरका हिराबहादुर तामाङको उद्धार

हेटौंडा । १५ वर्षदेखि खोरमा थुनिएर नारकीय जीवन बिताइरहनुभएका मकवानपुरको मनहरी गाउँपालिका एक मकरीका २३ वर्षीय हिराबहादुर तामाङको उद्धार भएको छ । परिवार, समाज र राज्यबाट उपेक्षित भइ बाँचिरहका तामाङलाई हेटौंडा ९ स्थित सियान पुनर्स्थापना केन्द्रले उद्धार गरी उपचारसमेत गरिरहेको छ ।

मानसिक रुपमा अस्वस्थ्य २३ वर्षका हिराबहादुर तामाङले आफ्नै परिवारबाट माया पाउनु भएन । गरिबी र चेतना अभावका कारण परिवारले विशेष हेरचाह गर्नुको सट्टा खोरमा थुनेर राख्दा उहाँको मानसिक स्वास्थ्य झन् बिग्रियो । 

आफ्नै दिसा पिसाबले दुर्गन्धित खोरमा १५ वर्षसम्म उहााले नारकीय जीवन बााचेको कहाली लाग्दो घटना सञ्चारमाध्यममा आएपछि गत साउन २५ गते उहााको उद्धार भयो । सियान पुर्नस्थापना केन्द्रले खानेबस्ने निशुल्क व्यवस्थासँगै उहाँको हेरचाहको जिम्मा लिएको छ । औषधी उपचारमा लाग्ने खर्च भने मनहरी गाउँपालिकाले ब्योहोरीरहेको छ ।

लागु औषध दुर्व्यसन फसेका युवाहरुलाई सुधार गर्न खोलिएको पुर्नस्थापना केन्द्रले सामाजिक उत्तरदायित्व बहन गरिदिँदा हिराबहादुरको कष्टकर जीवनको दैनिकी नै फेरियो । परिवारबाट स्नेह र उपचार नपाउनुभएका हिराबहादुरको स्वास्थ्य विशेष स्याहार पाएपछि सुधार भएको छ ।

पुर्नस्थापना केन्द्रमा रहेकाहरुको स्वास्थ्य परीक्षणका लागि आउने चिकित्सकको सल्लाहमा उहाँको उपचार भइरहेको छ । स्थानीय सरकार र सामजिक संस्था उत्तरदायी बनिदिँदा हिराबहादुरको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण भएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement