दोलखा । विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालमा हिमाल पग्लने क्रम बढ्दै जाँदा हिमताल बिस्फोटका घटना पनि बढ्दै गएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले तयार पारेको अध्ययन प्रतिवदेन अनुसार नेपाल, चीन र भारतमा ४७ वटा हिमताल बिस्फोटको जोखिममा छन् । त्यसमध्ये नेपालमा मात्र २१ वटा हिमताल जोखिममा छन् । यी बाहेक पनि नेपालमा थुप्रै हिमताल छन् । तर, तिनीहरुको अवस्थाका बारेमा थप अध्ययन हुन सकेको छैन ।
हिमाली क्षेत्रमा एक त हिमताल बिस्फोट भइहाले क्षति कम गर्न सूचना दिने प्रणाली छैनन् भने भएका पनि कुन् अवस्थामा छन्, सरकारी निकायलाई जानकारी नै छैन ।
सोलुखुम्बुको थामेमा गत साउन ३१ गते दिउँसो एक्कासी आएको भिषण बाढीले भौतिक संरचनामा ठूलो क्षति पुग्यो । उक्त बाढी २ वटा हिमताल फुटेर आएको पुष्टि भयो । दोलखाको रोल्वालिङ खोलामा गत असार २२ गत आएको बाढीको त अझै अध्ययन हुन सकेको छैन । विश्वव्यापी तापक्रम वृद्धिका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पग्लिएर नयाँ हिमताल बन्ने र भएका हिमताल फुट्ने जोखिम बढिरहेको सोलुखुम्बुको हिमताल बिस्फोटको घटनाले पुष्टि गरेको छ ।
सन् १९७७ यता नेपालमा दुई दर्जनभन्दा बढी हिमताल बिस्फोटका घटना भइसकेका छन् । सन् २०१७ को इसिमोडको प्रतिवेदनले नेपालका २१, चीनको तिब्बतका २५ र भारतको एउटा हिमताल बिस्फोटको जोखिममा रहेको देखाएको छ । बिस्फोटको जोखिम देखिएपछि सन् २००० मा च्छो रोल्पा हिमतालको पानीको सतह ३ मिटर घटाइयो र सूचना प्रणाली जडान गरियो । तर, संरक्षण अभावमा सूचना प्रणालीका सामग्री च्छो रोल्पाबाट केही र तामाकोशी नदी तटीय क्षेत्रबाट सबै हराइसकेका छन् ।
३ वर्षअघि माथिल्लो यांग्रीखोलाको नजिकै गन्जालामा अत्याधिक हिउँ पग्लिएकै अवस्थामा परेको ठूलो पानीले मेलम्ची बजारसहितका तटीय क्षेत्रमा ठूलो क्षति पुर्यायो । सरकारले उतिबेला त्यसक्षेत्रमा सूचना प्रणाली जडान गरिने भने पनि अझै केही काम भएको छैन ।
नेपालमा बग्ने भोटेकोशी, अरुण, बरुण, तामाकोशीलगायत ठूला नदीका मुख्य जलाधार नेपाल र चीनतर्फका तीन हजार ६ सय २४ वटा हिमताल हुन् । तीमध्ये २ हजार ७० हिमताल नेपालतर्फ र १ हजार ५ सय हिमताल चीनको तिब्बत र ४५ वटा भारतमा रहेको इसिमोडको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी कोशी नदीको जलाधार मानिएका हिमताल खतराको सूचीमा छन् । त्यस क्षत्रेमा कतै पनि सूचना प्रणाली जडान भएको छैन ।
सन् २०१७ पछि नेपालका हिमतालको अवस्थाबारे अध्ययन हुन सकेको छैन । २१ वटा हिमताल बिस्फोटको जोखिममा त छन् नै, अन्य साना-ठूला हिमतालको अवस्था कस्तो छ भन्ने विषय झन् जटिल बनेको छ । उच्च हिमाली क्षेत्रका हिमतालको अवस्था परीक्षण गर्ने र जोखिममा रहेका हिमताल फुटिहालेमा तल्लो तटीय क्षेत्रमा धनजनको क्षति कम गर्न सूचना प्रणाली सञ्चालन कसरी गर्ने भन्नेबारेमा सरकारले अहिलेसम्म योजना नै बनाएको छैन ।