ठूला भवनमा हुने आगलागी नियन्त्रण गर्न के गर्ने ?

असार ८, २०८१ |भुवन पाण्डे|अमृता अनमोल
ठूला भवनमा हुने आगलागी नियन्त्रण गर्न के गर्ने ?

बुटवल । आगलागीको जोखिम नियन्त्रण भित्रको विपद होइन । यद्यपि सावधानी अपनाउन सके यसबाट बच्न सकिन्छ । ठूला-ठूला भवन र डिपार्टमेन्ट स्टोरहरुमा हुने आगलागीको जोखीम कस्तो छ र नियन्त्रण कसरी गर्न सकिएला त ?

बिहीबार साझ बुटवलको मिलन चौकमा रहेको डेल्टा भवनमा आगलागी भयो । विद्युत् सर्टबाट लागेको आगो ४ घण्टासम्म दन्किरह्यो । आगो निभाउन रुपन्देहीसहित नवलपरासीसम्मका १३ वटा दमकल प्रयोगमा गरिए । यद्यपि समयमा दमकल नआउँदा भवनसहित झन्डै ५० करोडका सामाग्री जलेर खरानी भए ।

ठूला-ठूला भवनमा आगलागी हुने प्रमुख कारण विद्युत् सर्ट हो । दक्ष प्राविधिकबाट घर वायरिड नगर्ने, प्रयोग भएका विद्युतीय तार र फ्युजको क्षमता तथा विद्युतीय सामाग्रीको भारमा तारतम्य नमिल्दा विद्युत् सर्ट भएर धेरै आगलागी हुन्छ । ठूला भवनहरुमा आगलागी नियन्त्रण गर्न अग्नी नियन्त्रण यन्त्र राखिएका हुन्छन् । तर, कसरी चलाउने भन्ने नजान्दा आगो भयावह बनिसकेको हुन्छ ।

ठूला मल, सार्वजनिक कार्यालय, अपार्टमेन्ट र प्रेटोलपम्पमा आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने आधारभूत सामाग्रीको अनिवार्य व्यवस्था गरिनुपर्छ । आगो निभाउने यन्त्र र तरिकाबारे त्यहाँ कार्यरत कर्मचारीलाई सिकाउनु पर्छ । हरेक ६ महिनामा आगो निभाउने यन्त्रको प्रयोग गर्ने अभ्यास गर्नुपर्छ । यस्तो अभ्यास नहुँदा पनि आगलागीको जोखीम बढीरहेको छ ।

भवन आचारसंहिता बनाउँदा आगलागीका जोखीम कम गर्ने बुँदाहरु राखि त्यसलाई समेत कडाइ गर्नुपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमा प्रत्येक २० हजार जनसंख्यालाई एक अग्नि नियन्त्रक र २८ हजार जनसंख्यालाई एक बारुण यन्त्र चाहिन्छ ।

सरकारले कम्तीमा सबै स्थानीय तहमा बारुणयन्त्रको व्यवस्था गर्नुपर्छ । आगलागीको जोखिम रोक्न ठूला मल र अपार्टमेन्टहरुलाई साझेदारीमा त्यस्ता वारुणयन्त्र किन्ने र कर्मचारीहरुलाई आगो निभाउने अभ्यास गराएर राख्नुपर्छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।

Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।