ताप्लेजुङमा ९ दिनमा ८१ घरका ३४२ जना विस्थापित, ८४ पशुचौपाया मरे

असार ४, २०८१ |आनन्द गौतम
ताप्लेजुङमा ९ दिनमा ८१ घरका ३४२ जना विस्थापित, ८४ पशुचौपाया मरे

ताप्लेजुङ । मनसुनी वर्षा सुरु भएको जेठ २७ गतेपछि हिमाली जिल्ला ताप्लेजुङमा ८१ घरका ३४२ जना विस्थापित भएका छन् । यो अवधिमा पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ८४ वटा पशुचौपाया मरेका छन् । चारवटा सवारीसाधनमा क्षति पुगेको छ ।

पहिरोमा परी फक्ताङलुङ गाउँपालिका २ खेजेनिमका जसमाया लिम्बू उनका दुई छोरी गंगा र जमुना गरी तीन महिला, यहाँकै रामबहादुर साम्रा र फिदिम नगरपालिका १४, पाँचथरका सविन राई गरी दुई पुरुषको मृत्यु भएको छ ।

राईको विद्युत् उत्पादन कम्पनीमा काम गर्ने क्रममा ताप्लेजुङकै याम्फुदिनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । पहिरोमा घाइते खेजेनिमका युगेन साम्रा र उहाँका छोरी उपचारपछि घर फर्किनुभएको छ ।

पहिरोबाट सिरिजंगा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बासिन्दा विस्थापित भएका छन् । पहिरोले आठवटा घरमा पूर्ण क्षति पुर्याएको रावल बताउनुहुन्छ । यी घरमा बस्ने १७ महिला र १८ पुरुष गरी ३५ जना पूर्ण विस्थापित भएको प्रहरी तथ्यांक छ ।

१८ वटा घर पहिरोको पूर्ण जोखिममा छन् । यी घरका ५२ महिला र ४२ पुरुष गरी ९४ जना विस्थापित भएको प्रहरीले जनाएको छ । ५५ वटा घर पहिरोको जोखिममा छन् । यी घरका मानिस दिउँसो घाम लाग्दा घरमा जाने र राति र दिउँसै पनि पानी परे बाहिर बस्ने गरेको स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् ।

यी घरमा ९४ महिला र ११९ पुरुष गरी २१३ जना विस्थापित भएका छन् । जोखिममा भएर पनि फुङ्लिङ नगपालिका १०, फुरुम्बू काफ्लेपाटीका ६ घरपरिवार भने आफन्तीको घरमा बस्दै आएका छन् ।

पशुचौपायामध्ये सबैभन्दा बढी क्षति बाख्रा-खसीको भएको छ । खेजेनिमको एउटा बाख्रा फार्म नै रित्तिएको वडाध्यक्ष भुपेन्द्र चौलागाईंले जनाउनुभयो । पहिरोले नौवटा गोठमा क्षति पुर्याएको छ । बाढी र पहिरोका कारण नौदिनमा दुई काठको पुल, एक झोलुंगे पुल, एक निर्माणाधीन झोलुंगे पुल र मान्छे हिँड्न सिमेन्टेड गरी बनाएको एक गरी पाँच पुलमा क्षति पुगेको छ ।

सदरमुकाम फुङ्लिङबाट पूर्व-पश्चिम र उत्तर तर्फका ६ वटा सडक अवरुद्ध भएका छन् । तीमध्ये तीनवटा खुलाइसकिएको र तीनवटा खुलाउने प्रयास भइरहेको स्थानीय तहले जनाएका छन् । एउटा क्रसर, एउटा माइक्रो हाइड्रो, सिरिजंगा गाउँपालिका ५, मामांखेमा रहेको एउटा लिम्बू संग्रहालयमा क्षति पुगेको छ ।

गाउँमा ठूलो संख्यामा अलैंची बालीमा क्षति पुगेको स्थानीयले जनाएका छन् । सिरिजंगा ६ मामांखे, ८ याम्फुदिनलगायत क्षेत्रमा बढी क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

क्याप्सन :

ताप्लेजुङको याम्फुदिनमा काबेली नदीका आएको बाढीले पारेको प्रभाव । तस्बिर : कान्तिपुर टेलिभिजन


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement