सुरक्षाकर्मीकै उपस्थितिमा दलित परिवारमाथि कुटपिट

असार २, २०८१ |आरएन विश्वास
सुरक्षाकर्मीकै उपस्थितिमा दलित परिवारमाथि कुटपिट

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६, औरहीमा सार्वजनिक पोखरीको छेउमा बसोबास गर्दै आएका दलित समुदायका एक परिवारका ६ सदस्यमाथि सुरक्षाकर्मीकै उपस्थितिमा निर्घात कुटपिट भएको छ ।

सडक निर्माण गर्ने विषयलाई लिएर हिजो (शनिबार) साँझ स्थानीय प्रितम पासवानको घर तत्कालीन क्षेत्रपाल हरिसुदन यादवको परिवारजनले भत्काएको थियो । घर भत्काउने क्रममा पासवान परिवारले रोक्न खोज्दा उनीहरुमाथि नै आक्रमण भएको थियो । यादवक‍ो परिवार मिलेर आफ्नो परिवारको ६ जनामाथि निर्घात कुटपिट गर्दै घर भत्काइदिएको पीडित पासवान परिवारको भनाइ छ ।

कुटपिटबाट प्रितमसहित उहाँकी पत्नी मुसनीदेवी पासवान, छोरा रञ्जित, छोरीहरु रितु र राखी तथा बुहारी सरितादेवी पासवान घाइते हुनुभएको छ । घाइते सबैको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

यता कुटपिटमा संलग्न रहेका यादवले पासवानहरुबाटै पहिले कुटपिट भएको दाबी गर्नुभयो । घटना सम्बन्धमा सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले जातीय झगडा नभई उपभोक्ता समिति र जग्गासम्बन्धी विवादमा कुटपिट भएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।