काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टी-स्टेटको जग्गा ठगी गर्नेलाई सरकार भत्केला भन्ने डरले लेनदेनमा नमिलाउन आग्रह गर्नुभएको छ । सोमबार फेसबुकमा एक पोस्ट लेख्दै मेयर शाहले सरकार भत्केला कि भनेर नडराइ र एक अर्काको अपराधसँग मिलाउन बार्गेनिङ नगरी तत्काल पहलकदमी लिन आवश्यकता रहेको बताउनुभएको हो ।
यस्तै उहाँले गिरिबन्धुलाई जग्गा सट्टापट्टा गर्न दिने भएपछि केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीले निवेदन दिएको दाबी गर्नुभएको छ । ती सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको चलखेल हुने सम्भावना रहेको शाहको अनुमान छ ।
'गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भएपछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगाहा जमिन बेच्न पाउने निवेदन हालेका थिए,' उहाँले लेख्नुभएको छ, 'यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तिमा ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ ।'
सर्वोच्च अदालतको फैसलाले निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको मेयर शाहको भनाइ छ ।
'सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ,' उहाले लेख्नुभएको छ, 'तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानुन नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ ।' जग्गा ठगहरुविरुद्ध तत्काल उजुरी हाल्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।