बाढी–पहिरोले देशका मुख्य राजमार्गका ६ ठाउँमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध

श्रावण ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढी–पहिरोले देशका मुख्य राजमार्गका ६ ठाउँमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न भागमा सडकहरु अवरुद्ध भएका छन् । बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ भने पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा आएको छ।

कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यसैगरी पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ । तुम्वेवा गाउँपालिका बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको छ ।

यसैगरि नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

यता, काठमाडौंको टोखा नगरपालिका २ अविरल वर्षाका कारण सडमा क्षति हुँदा काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सन्चालनमा छ ।

यसैगरी बागलुङको मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोर एकतर्फी सन्चालनमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.