काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार नेकपा एमालेबाट सत्ता गठबन्धनलाई धोका भएको टिप्पणी गर्नुभएको छ । एमालेका सांसदहरूले राष्ट्रियसभामा पेस भएको संघीय निजामती सेवा विधेयकमा संशोधन हालेको भन्दै शेखरले खरो टिप्पणी गर्नुभएको हो ।
उहाँले यो कदम गठबन्धनका लागि आपत्तिजनक हुने बताउँदै गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र भएको सामाजिक सञ्जालमा लेख्नु भएको छ । एमालेले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका दिएको समेत बताउनुभयो ।
कांग्रेस नेता कोइरालाले नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने र सबै मिलेर एमालेले हालेको संशोधन पास हुनबाट रोक्नु पर्ने बताउनुभएको छ । एमाले सांसदहरूले कर्मचारीहरूका लागि अवकाशपछि कुलिङ पिरियड राख्न नहुने भन्दै संशोधन हालेका हुन् ।
यसमा आपत्ति जनाउँदै कोइरालाले लेख्नु भएको छ, 'कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ ।'