झापामा हात्तीका अङ्गको तस्करी बढ्दो

वैशाख ९, २०८१ |रमा दाहाल
झापामा हात्तीका अङ्गको तस्करी बढ्दो

झापा । नेपालबाट गैंडाको खाग, सालकको खपटाजस्ता वन्यजन्तुका अंगहरुको चोरी तस्करी हुने गरेका घटना नौला होइनन् । पछिल्लो समय हात्तीका अङ्गहरु पनि चोरी तस्करी हुने गरेको रहस्यबाहिर आएको छ । झापामा हालै मारिएको जङ्गली हात्तीको दाह्रा र पुच्छरको रौं गायब भएको पाइएपछि वन्यजन्तु संरक्षणकर्मी पिरोलिएका छन् ।

झापाको मेचीनगर नगरपालिका-१२ को कालिका सामुदायिक वनभित्र तीन दिनअघि एउटा वयस्क हात्ती मृत भेटियो । हात्ती मरेको खबर सुन्नेबित्तिकै घटनास्थल पुगेका संरक्षणकर्मीले दाह्रा र पुच्छरको रौं झिकिएको देखे । यो घटनाले नेपालबाट हात्तीको चोरी सिकारी हुने गरेको आशंका पैदा भएको हात्ती संरक्षणकर्मी शंकर लुइँटेल बताउँनुहुन्छ।

भारतबाट चरनको खोजीमा नेपाल छिर्ने जङ्गली हात्ती र मान्छेबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । हात्तीले बालीनाली नष्ट पार्ने, घर भत्काउनेदेखि मानवीय क्षती समेत पुर्‍याउँदै आएका छन् । त्यस्तै मान्छेले थापेको विद्युतीय धरापमा परेर हात्ती पनि मर्ने गरेका छन् ।

यो वर्षमात्र झापा र मोरङमा गरी चारवटा हात्ती मरिसकेका छन् । तीमध्ये गत पुसमा मोरङमा मारिएको र अहिले झापामा मारिएको हात्तीबाट दाह्रा र पुच्छरको रौं झिकिएको छ । वन्यजन्तु संरक्षणको जिम्मेवारी पाएको डिभिजन वन कार्यालयका अधिकारी भने मृत हात्तीको पोस्टमार्टम गर्ने र त्यसको रिपोर्ट पर्खने बाहेक वन्यजन्तुको अङ्ग चोरी सिकारी भइरहेको यो घटनाप्रति त्यति गम्भीर देखिंदैनन् ।

झापाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बाँस्तोलाले हात्तीका अङ्गको चोरी तस्करी भएको यो घटनामाथि अनुसन्धान सुरु गरिसकेको दाबी गर्नुभयो । प्रहरी प्रशासनले गम्भीर रूपमा नलिएकाले नै जनावरका अङ्गको चोरी सिकारीमा संलग्न तस्करहरुको मनोबल बढेको हात्ती संरक्षणमा जुटेकाहरुको गुनासो छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।