मौसमी चक्रको परिवर्तनले किसान प्रभावित

चैत्र १८, २०८० |सुबिन्द्र श्रेष्ठ
मौसमी चक्रको परिवर्तनले किसान प्रभावित

काठमाडौं । जलवायु परिवर्तनले मौसमी चक्र नै परिवर्तन भइरहेको छ । सुक्खा, खडेरी, अतिवृष्टि, बाढी-पहिरोजस्ता समस्याले सबैभन्दा बढी किसानहरू प्रभावित भएका छन् । कृषि उत्पादन घटेर खाद्य असुरक्षाको अवस्था निम्तन नदिन जलवायु अनुकूलन प्रविधि अपनाउन विज्ञले जोड दिएका छन् । 

यसपटक हिउँदभरि पानी परेन । गहुँ लगाउन नपाउने चिन्ताले पिरोलिएका सुर्खेतका वेदुराम चौधरीले अन्ततः सिँचाइको पानीले नै काम चलाए । समयमा पानी नपर्दा खेतीलाई ठूलो असर गरेको छ । बाली सुक्नेसँगै विभिन्न रोग लाग्दा उत्पादनमा समेत असर पर्ने गरेको उनको अनुभव छ ।

जलवायु परिवर्तनले पानीको मुहान सुकिरहेका छन् पानीका स्रोत तल सर्दा माथिको बस्तीलाई असर गरिरहेको छ । बस्तीमाथि हुन्छ, पानीको स्रोत तल हुन्छ, यस्तोमा हाइड्रोलिक पम्पबाट पानी माथिको बस्तीमा लग्न सकिन्छ । यसरी पानी लैजाँदा विद्युत् वा डिजेल कुनै इन्धन आवश्यक नपर्ने जलवायु अनुकूलनविद् सुरेन्द्रराज जोशी बताउँछन् ।

यस्तै भिरालो जमिनलाई प्राकृतिक पद्धतिबाटै कान्ला बनाएर खेती गर्दा माटो बग्न रोकिने मात्रै नभई पानीका मुहानको समेत संरक्षण गर्न सकिने जानकार बताउँछन् ।

भिरालो जमिनमा भूक्षय नहोस् र खेतीपनि गर्न सकियोस् भन्ने उद्देश्यले स्लोपिङ एग्रिकल्चर ल्यान्ड टेक्नोलोजी अपनाइने गरिन्छ ।

भिरालो जमिनमा मिश्रित प्रणालीबाट खेती गर्दा कृषि उत्पादन बढाउनुका साथै जलवायु परिवर्तनले पारेको असर समेत कम गर्छ । जलवायु परिवर्तनका कारण नेपालमा कृषि उत्पादन १५ प्रतिशतसम्म ह्रास हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । यसले खाद्य असुरक्षाको स्थिति उत्पन्न हुन नदिन र उत्पादन बढाउन कृषि प्रणालीमा समेत सुधार गर्नुपर्ने किसानहरू नै बताउँछन् ।

जलवायु परिवर्तनले कृषि उत्पादनमा पारिरहेको असर न्यूनीकरण गर्न जलवायुअनुकूलनका विधितर्फ किसानलाई प्रेरित गर्नु त पर्छ नै, त्यसअनुसारका संरचना र जनशक्तिको पनि व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्ने देखिन्छ । 


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।