काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल गतिविधिबाट गरेको निलम्बन फुकुवा गरेको छ । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले पनि उनको निलम्बन फुकुवा गरेको हो ।
'सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं,' क्यानले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
क्यानको यो निर्णयसँगै सन्दीपले नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने बाटो खुल्ला भएको छ । लामिछानेलाई विश्वकप खेल्न पठाउने बारे नेपाल क्रिकेट संघ क्यानमा छलफल भइरहेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा टी–ट्वान्टी विश्वकप हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमअनुसार आगामी मे २५ सम्म खेलाडी हेरफेर गर्न सकिनेछ । सन्दीपलाई टिममा समावेश गर्न हाल रहेको १५ सदस्यीय टिमबाट एक जना खेलाडी हटाउनु पर्नेछ।
नेपाली राष्ट्रिय क्रिकेट टिम भने विश्वकपमा लागि अमेरकीका पुगिसकेको छ । नेपाली टिम अमेरिकामा केही दिन अभ्यास गरेर अहिले वेस्ट इन्डिजमा छ ।
सम्बन्धित समाचार...
जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछानेलाई सफाइ
सन्दीपमाथि हुने सजायको प्रतीक्षामा गौशाला २६, पूर्ण न्यायका लागि माथिल्लो अदालत जाने
के होला सन्दीप लामिछानेको अबको बाटो ?