अप्रिय घटनाबाट पाठ सिकेर...

चैत्र १३, २०८० |टेकराज जोशी
अप्रिय घटनाबाट पाठ सिकेर...

धनगढी । कैलालीको चिसापानीमा सोमबार १७ युवाले पुलबाट कर्णाली नदीमा हामफाले । नदीमा पौडी खेलेर मनोरञ्जन लिन गरिएको लहडबाजीले अप्रिय अवस्था उत्पन्न गर्‍यो । कर्णाली पुलमा अप्रिय घटना हुन थालेपछि स्थानीय प्रशासनले यस्ता घटना न्यूनीकरणको उपाय खोजी गर्न थालेको छ ।

दुई साताअघि मात्रै आगलागीबाट क्षति पुग्दा केही दिन आवागमन नै बन्द गरिएको कर्णाली पुलमा सोमबारको घटनापछि पुलसँगै त्यहाँका स्थानीय नागरिकको सुरक्षा चासो सरोकारको विषय बनेको छ । पुलमा कानुन उल्लंघनका घटना हुन थालेपछि तारबार लगाउने विषयमा समेत स्थानीय प्रशासनले परामर्श थालेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताउँछन् ।

नेपालमा अधिकांश पुल खुला प्रकृतिका नै छन् । जसका कारण कहिले हेलचेक्र्याँइले त कहिले दुर्घटनावश नागरिकको ज्यान जाने घटनाहरू दोहोरिइरहेका छन् । विज्ञहरु पुलको सुरक्षा प्राणली बलियो बनाउनेदेखि जनचेतना फैलाउनेसम्मका उपाय अपनाउन सरकारलाई सुझाव दिन्छन् ।

कर्णाली पुलबाट पौडी खेल्न हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली जोड्ने कर्णाली पुलको निर्माण नेपाल भएका अरु पुलको तुलनामा भिन्न छ । सरकारी अधिकारीहरुले सोमबारको घटनाले सरकारलाई अब पुलमा सुरक्षामा भिन्न ढंगले सोच्न बाध्य बनाएको भन्दै यस्ता घटना हुनै नदिने गरी छलफल सुरु गरिएको बताउँछन् ।

सोमबारको चिसापानी घटना कमजोर सुरक्षा प्रणाली र सुरक्षा जोखिमबिनाको उत्तेजित युवा भावनाको परिणाम नै छ । त्यसैमा समयमै उद्धार समेत गर्न नसक्ने हाम्रो राज्य संयन्त्रले अब यस्ता घटनाबाट समयमै पाठ सिकेर दुर्घटना हुनै नदिने तयारी गर्नै पर्नेछ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।