दुर्गमका बासिन्दा अस्पतालै नपुगी गुमाउँछन् ज्यान

वैशाख २८, २०८१ |जे पाण्डे
दुर्गमका बासिन्दा अस्पतालै नपुगी गुमाउँछन् ज्यान

मुगु । सरकार भन्छ- उपचार नपाएर कसैले पनि ज्यान गुमाउनु पर्दैन । तर, मुलुकको दुर्गम क्षेत्रका नागरिकको अवस्था यस्तो छ कि, अस्पताल जाने सवारी साधन नपाएरै ज्यान गुमाउनुपर्छ । न सडक न हवाई, कुनै पनि यातायातको भरपर्दो सुविधा नभएको मुगुको ताल्चा विमानस्थलमा भेटिएका बिरामी र उनीहरुका आफन्त रोगले मात्रै नभई राज्यको उपेक्षाले समेत आफूहरुलाई गाँजेको गुनासो गर्छन् ।

‘मुगुमा चाहेका बेला जहाज पाउन आकाश खुलेर मात्रै पुग्दैन, भाग्य नै खुल्नुपर्छ,’ भामबाडा मुगुकी बासमती सेजुवाल बताउनुहुन्छ ।

गुन्डाको खुकुरी प्रहारबाट सख्त घाइते भएका बेला अस्पताल पुग्न पविता सेजुवाललाई कुनै साधनको व्यवस्था भएन । नेपालगन्ज वा सुर्खेत जान हवाई जहाजको टिकट पनि पाइएन । तारासिंह विकले पनि यस्तै अवस्था भोग्नुपर्यो । पेट दुखेर सिकिस्त भएकी पत्नी सेतु विकलाई उपचारका लागि जिल्ला बाहिर लैजान गमगढी अस्पतालले रेफर गर्यो । जहाजको टिकट पाउन अर्को सास्ती । बल्लतल्ल प्रमुख जिल्ला अधिकारीको सिफारिसमा टिकट त मिल्यो, अब जहाज आउँछ कि आउँदैन भन्ने चिन्ता ।

सरकारी र निजी एयरलाइन्सका जहाजले बढी नाफामूलक क्षेत्रमा उडान भर्ने भएकाले मुगुमा कहिलेकाहीँ मात्रै जहाज पुग्छन् । नियमित जहाज नजाँदा सबैभन्दा बढी असर बिरामीलाई पर्छ । बिरामीले टिकट पाउन पनि प्रशासनको गुहार माग्नुपर्छ ।

प्रशासनले महिनामा १० देखि १५ जना बिरामीका लागि जहाजको टिकट सिफारिस गर्दै आएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जनाउनुभयो । सिफारिस लिनै मुस्किल छ । सिफारिस पाइहाले जहाज आउने नआउने टुंगो हुँदैन ।

ताल्चा विमानस्थलबाट फेब्रुअरीमा ४७, मार्चमा ३९ र अप्रिलमा २३ उडान भएका छन् । तर ती उडानमा पनि पहुँच नभएकाले टिकट पाएनन् । कतिपयले त टिकट नपाएकैले बिरामीलाई फर्काएर घर लैजान्छन् । तीमध्ये कतिपयको त घरमै मृत्यु हुने गरेको जिल्ला अस्पताल गमगढीका डा. कर्णराज भाम बताउनुहुन्छ ।

सरकारले विपन्न नागरिकको निःशुल्क उपचार गरिने बताउँदै आएको छ । आवश्यक परे हेलिकोप्टरमार्फत उद्धार गर्ने सरकारको योजना पनि छ । तर, कार्यान्वयन फितलो हुँदा दुर्गम क्षेत्रका पहुँचविहीन विपन्न नागरिकले अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने नियति ज्युँका त्युँ छ । 

हेर्नुहोस् जे पाण्डेका थप स्टोरी


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।