देशै सामेल नभएको युद्धमा ज्यानको बाजी, शव पाउने/नपाउने टुंगो नहुँदा कुशको शव बनाएर अन्तिम संस्कार

माघ ५, २०८० |शमशेरविक्रम जीसी|रोशन लामिछाने|केदार शिवाकोटी
देशै सामेल नभएको युद्धमा ज्यानको बाजी, शव पाउने/नपाउने टुंगो नहुँदा कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौं । रोजगारीको सिलसिलामा विदेश जाने नेपाली युवा पैसाका लागि जोखिमपूर्ण काम गर्न बाध्य छन् । अझ पछिल्लो समय राम्रो पारिश्रमिक र सेवा सुविधा पाइने भएपछि रुसी सेनामा ज्यानको बाजी राखेर रोजगारीका लागि नेपाली युवा पुगिरहेका छन् । तर त्यस्ता जोखिमपूर्ण क्षेत्रमा गएर मृत्यु भएकाहरूको शव नेपाल ल्याउन कठिन छ । जसले गर्दा मृतकका परिवारले परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने गरेका छन् । 

१६ वर्ष नेपाली सेनाको जागिर गरेर थप रोजगारीका लागि अफगानिस्तान र त्यसपछि रुस गएका स्याङ्जाका पृतम कार्कीले रुस युक्रेन युद्धमा परेर ज्यान गुमाए । युद्धमा मृत्यु भएका कार्कीको शव आउने नआउने टुंगो नलागेपछि उनका परिवारले हिन्दु संस्कार अनुसार कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेका कतिपय परिवारले शव नआउने भएपछि कुशको शव बनाएर काज किरिया गरिसकेका छन् । दोलखाको मेलुङगाउापालिका-६ सुनुवारपानी टोलका राजकुमार कार्कीको शव ल्याउन सम्भव नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।

प्युठान नगरपालिका ४ बाठेबरका सोमेश सुनार रोजगारीका लागि दुई वर्ष पहिले कतार गएका थिए । राम्रो पारिश्रमिक नभए पनि कतारमा उनले दुई वर्षसम्म परिवारका सामान्य आवश्यकता पूरा गर्न सक्ने गरी कमाई गरिरहेकै थिए । तर राम्रो पारिश्रमिक पाइने र सेवासु विधापनि राम्रो हुने हल्लाकै बिचउनी त्यहाँबाट रुस हानिए । रुसी सेनामा भर्ती भएका सोमेशको केही दिनमै मृत्यु भयो । 

मानव तस्करको फन्दामा परेर कतारबाट रुस गएका उनको मृत्यु भएको खबर परिवारले त पायो तर मृतक सोमेशको शव पाउने नपाउने कुनै टुंगो छैन । रुस युक्रेन युद्धमा मारिएका छोराको शव नेपाल ल्याउन परिवारले हरसंभव प्रयास गरेको छ । शव नआए कुशको शव बनाएरै भए पनि अन्तिम संस्कार गर्ने परिवारको तयारी छ । 

यसो त रुस युक्रेन युद्धमा ज्यान गुमाएकाहरूको सङ्ख्या११ नाघिसकेको छ । अन्य दर्जनौँ नेपाली युवा सम्पर्कविहीन छन् ।रुसबाट शव ल्याउन नपाइने, खर्च धेरै लाग्ने र अस्तु पनि डीएनए परीक्षण गरेर मात्रै ल्याउनुपर्ने भएकाले ढिला हुने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

सम्बन्धित समाचार...

अन्त्येष्टि सकियो, आशा सकिएन


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।

Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।

Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement