तातोपानी नाकाबाट हुने निर्यात निराशाजनक

पुस १७, २०८० |कमला पाख्रिन
तातोपानी नाकाबाट हुने निर्यात निराशाजनक

सिन्धुपाल्चोक । उत्तरी तातोपानी नाकाबाट पछिल्लो समय आयात बढ्दै गए पनि निर्यात भने निराशाजनक छ । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६ देखि २०८० मसिंरसम्मको साढे चार वर्षमा ५८ अर्ब ६२ करोड १० लाख ७० हजार रुपैयाँको आयात भएकोमा निर्यात भने जम्मा ४२ लाख रुपैयाँको मात्र भएको छ ।

गत बैशाखमा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात निर्यात दुवै खुला भयो । २०७२ सालको भूकम्पपछि बन्द भएको नाका राम्ररी सुचारु नहुादै कोरोनाको कहरले बन्द भएको थियो । चीनसागको छोटो दूरीको नाका पूर्णरूपमा खुलेको भनिए पनि निर्यात भने आंशिक मात्रै छ । चिनियाँ पक्षले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गरिरहेको छ। आयात दिनहुा बढ्दो क्रममा रहेको भए पनि सरकारले निर्यातलाई प्रवर्द्धन गर्न नसक्दा स्थानीय र व्यवसायी निराश भएका छन् ।

भोटेकोशी गापा, दुगुनागढीका कैलाश पौडेलले भने, ‘पहिले चिनियाँहरू पनि आउँथे । नेपालबाट चाउचाउ, जडीबुटी, वायरहरू जाने गरेका थिए । त्यसरी पठाउँदा स्थानीयको बैंक खातामा पैसा आउने, डलर आउने हुन्थ्यो तर अहिले भने सबै ठप्प भएको छ।’

त्यसयता नेपालबाट सात कन्टेनर भाँडाकुँडा, हस्तकलाका सामानबाहेक अरु केही निर्यात नभएको यो नाकामा भूकम्पअघि खासासम्मका लागि खाद्यान्न तथा तरकारीलगायत जडीबुटी निकासी हुँदा नेपाली व्यवसायीले पनि राम्रो आम्दानी गर्थे । तर अहिले नेपाली व्यवसायी र स्थानीयको सामानले निर्यातले प्राथमिकता पाएको छैन ।

रेवन लजिस्टिक प्रा.लि सिन्धुपाल्चोकका प्रमुख फुनु शेर्पा भन्छन्, ‘रसुवाको नाकामा कस्टम ड्युटी फ्री भन्ने एउटा सेवा दिइरहेको छ। त्यो सुविधा यहाँ जाङ्बु पोर्टमा दिएको अवस्था छैन । त्यो सुविधाका लागि राज्यले पहल नगरेसम्म यो नाकाबाट विगतको जस्तो निकासी हुने मैलै चाहिँ देख्दिनँ ।’

तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकका भन्सार प्रमुख, दयानिधि केसीले भने, चिनयाँ पक्षबाट २०२३ मेदेखि निर्यात पनि खोजेको स्थितिमा जुन रुपमा निर्यात हुनु पर्ने त्यो रुपमा भइरहेको छैन । अहिलेसम्म ७ वटा कन्टेनरबाट ४२ लाख बराबरको मात्रै सामान निर्यात भइरहेको छ । निर्यातका लागि अहिले विभिन्न पक्षले सम्पर्क गरिरहेका छन् ।

चीनले नचहँदासम्म निर्यातको सम्भावना नदेखिएको स्थानीय व्यापारी बताउँछन् । त्यसका लागि सरकारले नै चीन सरकारसँग कुटनीतिक पहल गर्नुपर्ने देखिन्छ । चीनतर्फ पनि निर्यातका लागि छुट्टै सेट तयारी भइरहेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।