बर्दियामा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन हुन सकेन, चार वर्षमा १८ जनाको मृत्यु

पुस १२, २०८० |कमल पन्थी|रेजिना मल्ल
बर्दियामा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन हुन सकेन, चार वर्षमा १८ जनाको मृत्यु

बर्दिया । बर्दियामा विगत चार वर्षयता बाघ लगायत वन्यजन्तुको आक्रमणले त्रास फैलाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग र घना सामुदायिक वनबाट निस्कने बाघ, चितुवा, हात्ती, गैँडा लगायत वन्यजन्तुले धनजनको क्षति पुर्‍याउन थालेपछि यस क्षेत्रका बासिन्दा आतंकित बनेका छन् ।

खाता जैविकमार्गस्थित कुशमनिया सामुदायिक वनमा ०७९ साल भदौ २६ गते भैंसी चराउन गएका रामदिन थारु बाघको आक्रमणमा मारिएपछि घरपरिवारको आँसु अझै सेलाएको छैन । बर्दिया निकुञ्जभन्दा बाघ अहिले बढी मध्यवर्तीक्षेत्र र घना सामुदायिक वनबाट निस्केर बस्ती पस्न थालेको छ ।

मधुवन-२ की लंगौटी थारुले भनिन्, ‘केही पशु थिए । वनमा चराउन लैजान डर लागेर बेचियो । बाघ र हात्तीको डरले दुइटालाई घरमै पालेका छौँ।’ 

खाता जैविकमार्गको पत्थरबोझी, कैलाशीलगायत गाउँमा बाघ र हात्तीको आतंक उस्तै छ । विगत एक दशकयता हात्ती र बाघले आठ जनाको ज्यान गएको छ । दिनरात वन्यजन्तुको त्रास छ । तारजालीबाट छिरेर बाघ, हात्ती पस्ने गरेकोले त्रास बढेको हो ।

मधुवन १ का भुकही दास थारुले पनि गुनासो गर्दै भनिन्, ‘रातभर सुत्न पाउँदिन । साँझ पाँच बजे नै हात्तीको बथान आउँछ । हाम्रो घर गाउँको सबै भन्दा अन्तिममा छ । सधैं चारैतिर बत्ती बालेर सुत्छु ।’

डिभिजन वन कार्यालय अन्तर्गत सामुदायिक वनमा विगत चार वर्षयता बाघबाट १८ जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । वन कार्यालयले वन्यजन्तुबाट हुने जोखिम रोक्न तारबार लगाएको छ । वन्यजन्तु र मानवबाट भत्काएको विद्युतीय तारबार व्यवस्थापन समूहबाट संरक्षण हुन सकेको छैन ।

डिभिजन वन कार्यालयका वन अधिकृत टंक गुरुङ भने, ‘केही लगाइएका तारबारहरू हात्तीबाट र मानवबाट पनि क्षति भएको देखिन्छ । त्यसकारण तारबारहरू निर्माण गरिसकेपछि त्यसको व्यवस्थापन र संरक्षण स्थानीय समुदायबाट हुनुपर्ने देखिन्छ ।’

बर्दिया निकुञ्ज र सामुदायिक वनमा रहेका वन्यजन्तुबाट चार वर्षयता तीन दर्जन बढी मानिसको ज्यान गइसकेको छ । राज्यले यसको स्थायी समाधान गरेन भने वन्यजन्तुबाट हुने धनजनको क्षति नरोकिए मानव, वन्यजन्तुको द्वन्द्व बढ्दै थप भयावह रुप लिने छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।

Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।