काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अरूले पुनर्जीवन पाउने भएकाले मृत्युपछि खरानी भएर जाने अङ्गदान गर्न सबैलाई आह्वान गरेका छन् ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा प्रधानमन्त्री दाहालले मस्तिष्क मृत्युपछि अङ्गदान गर्न आमसर्वसाधारण हिचकिचाइरहेको देखिएको उल्लेख गर्दै अङ्गदानका लागि आह्वान गरेका हुन् ।
आफ्नो दोस्रो कार्यकालमै प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय भए पनि अहिलेसम्म काम अगाडि नबढेकाले यो कार्यकालमा टुङ्गोमा पुर्याउने प्रतिबद्धता पनि उनले जनाए ।
सम्मेलनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले २०५४ सालदेखि दरबन्दी नथपिएकाले स्वास्थ्य क्षेत्रको गुणस्तर बढाउन गाह्रो भएको बताए ।
अहिलेसम्म देशभर २२ सय वटा मिर्गौला र २५ वटा कलेजो प्रत्यारोपण भएको छ । नेपालमा वार्षिक ३ हजार जनाको मिर्गौला र १ हजार जनाको कलेजो फेल हुने गरेको चिकित्सक बताउँछन् ।
देशैभर प्रत्यारोपण केन्द्र स्थापना गर्ने प्रतिबद्धता सरकारले जनाए पनि अझै यो सेवा देशभर विस्तार हुन सकेको छैन ।