सुन्तला पाकेर पँहेलपुर हुनै लाग्दा किरा लागेपछि किसान चिन्तित

मंसिर १३, २०८० |रोशन लामिछाने
सुन्तला पाकेर पँहेलपुर हुनै लाग्दा किरा लागेपछि किसान चिन्तित

स्याङजा । सुन्तला पाकेर बगैँचा पँहेलपुर हुनै लाग्दा स्याङ्जाका किसान फलमा किरा लागेर खस्न थालेपछि चिन्तित छन् । फूल फूलेर फल लाग्ने बेला असिनापानीले चुटेर जोगिएको फल पाक्ने बेलामा औँसे किरा र पतेरो लागेपछि किसानको चिन्ता बढेको हो ।

पुतलीबजार नगरपालिका स्याङ्जाका मुक्ति अधिकारीलाई फूल खेलेर बतिला लाग्नेबेला परेको असिनापानीबाट जोगिएको सुन्तला बेचेर राम्रै आम्दानी हुन्छ भन्ने लागेको थियो । तर पाक्नै लागेको सुन्तलामा औँसे किरा र पतेरो लागेर फल खस्न लागेपछि उनी निराश छन् । यो समस्या अहिले जिल्लाका प्राय सबै किसानले भोगिरहेका छन् ।

गत वर्ष सुन्तला धेरै नै राम्रो रहेको जनाउँदै स्थानीय मुक्ति अधिकारीले भने, ‘अहिले फूल फुल्ने बेलामा असिना र खडेरी परेकाले सुन्तला राम्रो हुन सकेन । गत वर्षको तुलनामा यसपटक ४० प्रतिशत सुन्तला कम उत्पादन भएको छ । ’

स्याङजामा धनकुटाको खोकु र स्थानीय जातका सुन्तला पाकेर बगैँचा लटरम्म हुन थालेका छन् । तर यहीबेला फल धमाधम झर्न थालेपछि किसानले प्राविधिक गुहारेका छन् । खसेका सुन्तला जम्मा गर्न प्लास्टिक वितरण गरिएको सुन्तला सुपरजोन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार सुन्तलामा रोग तथा किरा फैलिन नदिन झरेको फल प्लास्टिकमा राखी मुख बन्द गर्नुपर्ने सो कार्यालयका प्रमुख माधव लम्सालले बताए ।

जिल्लामा २१ सय हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । स्याङ्जामा गत वर्ष २२ हजार मेट्रिकटन सुन्तला उत्पादन हुँदा किसानले १ अर्ब ३८ करोड रुपैयाँ कमाउन सफल भएका थिए । यस वर्ष असिनापानीका कारण फल पातलो भएकाले उत्पादन घट्नसक्ने आकलन भइरहँदा किराको प्रकोप देखिएको छ । पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधिखोला र हरिनास सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । जिल्लाभरका १५ हजार घरधुरी किसानका ५ हजार बढी साना ठूला सुन्तलाका बगैँचा छन् ।  


Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement