सल्यान । जाजरकोट भूकम्पबाट सल्यानको दार्मा गाउँपालिकाका ३४ मध्ये २१ वटा सामुदायिक विद्यालय क्षतिग्रस्त भएका छन् । विद्यालय भवन क्षतिग्रस्त भएपछि त्यहाँका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य छन् । केही विद्यालयले पठनपाठनका लागि टेन्टको व्यवस्था गरे पनि अधिकांश विद्यालयले टेन्टको समेत व्यवस्था गर्न सकेका छैनन् ।
भूकम्पले विद्यालय चिरा चिरा पारेपछि दार्मा गाउँपालिकामा रहेको जनज्योति माध्यामिक विद्यालयका यी बालबालिका अहिले टेन्टमा बसेर पढाइ सुरु गरेका छन् । अहिले यस विद्यालयमा ६ वटा टेन्ट स्थापना गरेर बालबिकासदेखि कक्षा ३ र १२ का विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गरिएको छ । टेन्टमा लेख्नका लागि न त बोर्ड न त सामग्री, एकातिर पढाएको अर्कोतिर आवाज सुनिने भएकाले बालकालिकाको ध्यान पढाइमा लाग्न नसकेको विद्यार्थी सुजाता बुढाथोकीको भनाइ छ ।
दार्मा गाउँपालिका ५ मा रहेको अन्धनासक आधारभूत विद्यालयले पनि खुला चौरमा पढाइ सञ्चालन गरेको छ । भूकम्पले विद्यालयको कक्षाकोठा बस्नलायक त छैनन् नै, डेस्क बेञ्च पनि भाँचिएका कारण विद्यार्थीलाई खुला चौरको भुइँमा राखेर पढाइ सञ्चालन गरिएको जनज्योति मावि दार्माका प्रधानाध्यापक मीनबहादुर वली बताउँछन् ।
रुकुम पश्चिम र जाजरकोटसँग सिमाना जोडिएको गाउँपालिका भएका कारणले पनि भूकम्पले दार्मा गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ । ३४ सामुदायिक विद्यालय रहेकामा यहाँ २१ विद्यालयमा क्षति पुगेको छ । ९ वटा विद्यालयका कक्षा सञ्चालन गर्न नमिल्ने र १२ आंशिक क्षति भएका छन् ।
जसमा २५ सय बालबालिका प्रत्यक्ष प्रभावित भएका छन् । क्षति भएका केही विद्यालयमा पढाइ सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिए पनि टेन्ट र त्रिपाल अभावका कारण विद्यार्थी खुला चौरमा बस्दै आएको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष नीमबहादुर केसीको भनाइ छ ।
बालबालिकाको पठनपाठन प्रभावित नहोस् भनेर केही विद्यालयमा वैकल्पिक रुपमा कक्षा सञ्चालन गरिए पनि अन्य विद्यालयमा भने सामाग्री अभावका कारण कक्षा सञ्चालन हुन सकेका छैनन् ।