कोप-२८ मा सहयोगभन्दा पनि अधिकारका विषयलाई उठाउने छु : प्रधानमन्त्री

मंसिर २, २०८० |कान्तिपुर टीभी संवाददाता
कोप-२८ मा सहयोगभन्दा पनि अधिकारका विषयलाई उठाउने छु : प्रधानमन्त्री

सोलुखुम्बु । प्रधानमन्त्री पुष्पकमल दाहालले दुबईमा हुने विश्व जलवायु सम्मेलन अर्थात् कोप-२८ मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा गरेको शान्ति दीप हस्तान्तरण तथा झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताएका हुन् । 

उनले आफूहरूले गर्दै नगरेको कामको मूल्य चुकाउन नसक्ने भन्दै जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको उसैले जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्ने बताए । 

यही मङ्सिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा कोप-२८ सम्मेलन आयोजना हुँदै छ । सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रूप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप-२८ को एजेन्डाका बारेमा छलफल हुनेछ । नेपालले कोप-२८ मा उठाउने विषय र प्राथमिकताका बारे उच्चस्तरीय सत्रलाई मङ्सिर १६ गते प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानी र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत मुद्दालाई प्राथमिकतामा राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement